राष्ट्रपति पौडेल र जापानका परराष्ट्र राज्यमन्त्रीबीच भेटवार्ता, के-के भए कुराकानी ?

राष्ट्रपति पौडेल र जापानका परराष्ट्र राज्यमन्त्रीबीच भेटवार्ता, के-के भए कुराकानी ?


काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धका लागि कोशेढुङ्गा भएको बताएका छन्।

जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओसँगको भेटवार्ताका क्रममा दुई देशको सम्बन्धबारे चर्चा गरेका हुन्।

उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको चार दिने भ्रमणमा छन्। त्यसका क्रममा सोमबार जापानी परराष्ट्र राज्यमन्त्रीले भेटवार्ता गरेका हुन्।

‘जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ जसले मानव संशाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जर्गेनाका क्षेत्रमा उल्लेख्य भूमिका खेलेको छ, यी क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी अझैँ लाभान्वित हुन चाहन्छौँ,’ भेटमा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने।

भेटवार्ताका क्रममा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले गत भदौ २३ र २४ गते भएको प्रदर्शनीपछि राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि खेलेको भूमिकाप्रति देशबाहरि पनि अत्यन्त प्रशंसा भएको बताए।

नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि जापानले सधै सहयोग गर्ने उनले बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले बताए।

राज्यमन्त्री होरी इवाओले नेपालको शान्ति भनेको यो क्षेत्रकै शान्ति र विकास भएको उल्लेख गर्दै शान्ति र स्थायित्वका लागि फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न होस भन्ने जापानले चाहेको पनि बताएका थिए ।

यसैगरी उनले जापानले नेपालको विकासमा निरन्तर सहयोग जारी राख्ने बताउँदै बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको पुननिर्माण र कोटेश्वर जाम अन्त्य गर्न आवश्यक अण्डर पास निर्माण गर्ने जापानले निर्णय गरिसकेको पनि जानकारी दिए ।