रौतहट-१ : माधव नेपाललाई छैटौं पटक छैन सहज

रौतहट-१ : माधव नेपाललाई छैटौं पटक छैन सहज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी निर्वाचनमा धेरै चासोको क्षेत्र रौतहट–१ पनि बनेको छ । रौतहट–१मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संहसंयोजक माधवकुमार नेपाल उम्मेदवार बनेका छन् ।

यसपटक उनले २०७९ को निर्वाचनजस्तो सहज प्रतिस्पर्धा सामना गर्नुपर्ने अवस्था छैन । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धनको समर्थनका कारण सजिलै विजयी भएका नेपाल यसपटक पनि आफ्नो राजनीतिक विरासत कायम राख्ने अपेक्षासहित मैदानमा उत्रिएका छन् ।

उनी यस निर्वाचनमा एक दर्जनभन्दा बढी दलहरू एकीकरण भएर बनेको नेकपाको तर्फबाट उम्मेदवार बनेका हुन् ।

यस क्षेत्रमा नेकपा (एमाले) का अजयकुमार गुप्ता, नेपाली कांग्रेसका अनिलकुमार झा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजेश चौधरीलगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यहाँका मतदाताले यसअघि विभिन्न दलका उम्मेदवारलाई अवसर दिँदै आएका छन् । एमालेका गुप्ता नेपालका अघिल्ला निर्वाचनका पनि प्रतिस्पर्धी थिए ।

अघिल्लो निर्वाचनमा नेपालले ३३,५२२ मत प्राप्त गरी विजयी भएका थिए भने एमालेका गुप्ताले २६ हजार ९२२ मत ल्याएका थिए ।त्यतिबेला नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसमेत थिए र उनलाई नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) को समर्थन प्राप्त थियो । जबकि एमाले एक्लै चुनावमा होमिएको थियो ।

कांग्रेसका उम्मेदवार झा पनि बलिया मानिन्छन् । नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत रहेका झा २०७२ सालमा राष्ट्रिय जनता पार्टी नेपालबाट यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उनी हालै टिकट पाउन कांग्रेस प्रवेश गरेका हुन् । त्यस निर्वाचनमा माधव नेपाल भने काठमाण्डु–२ बाट निर्वाचित भएका थिए ।

यसअघि माधव नेपालले २०५६ र २०६९ (दोस्रो संविधानसभा निर्वाचन) मा नेकपा (एमाले) बाट निर्वाचन जितेका थिए ।यसपटक नेपाली कांग्रेसको समर्थनबिनै मैदानमा उत्रिएका माधव नेपालका लागि एमालेका गुप्ता र कांग्रेसका झा दुवै चुनौतीपूर्ण बन्ने देखिन्छ ।

तर आफू अध्यक्ष भएको एकीकृत समाजवादीलाई माओवादीसँग मिसाएपछि छैटौं पटक संसदीय चुनावी मैदानमा उत्रन नेपाल हौसिएका छन्  ।

पहिलो पटक २०४८ मा राष्ट्रिय सभा सदस्य मनोनीत नेपाल रौतहट र काठमाण्डु गरी चार पटक विजयी बने भने एक पटक पराजिन भए । रौतहट–१ बाट २०५६, २०६४, २०७० र २०७९ मा चार पटक चुनाव लडेका नेपाल २०६४ मा मात्र पराजित भएका थिए । २०७४ मा उनी काठमाण्डुं–२ बाट विजयी भएका थिए ।

यस निर्वाचन क्षेत्रमा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधव नारायण नगरपालिका, दुर्गा भगवती नगरपालिका, यमुनामाई नगरपालिका, गरुडा नगरपालिका–१ तथा गढीमाई नगरपालिका–६, ७ र ८ (रौतहट) पर्दछन् ।

२०७९ मा भएको निर्वाचनमा समानुपातिक प्रणालीतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको थियो । कांग्रेसले १९,११९ मत प्राप्त गरेको थियो भने एमालेले ११,०८९ मत ल्याएको थियो ।

यस्त नेकपा (एकीकृत समाजवादी) ले ९,५७८, जसपा–नेपालले ६,९३५, जनमत पार्टीले ६,२८८ र नेकपा (माओवादी केन्द्र) ले २,७९१ मत प्राप्त गरेका थिए ।

माधव नेपालको गृहजिल्ला भएकाले तथा उनी त्यसबेला नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रहेकाले सो पार्टीले समानुपातिकतर्फ केही मत पाए पनि ती निर्णायक मानिने खालका छैनन् । यसले यसपटकको निर्वाचन माधव नेपालका लागि कठिन हुनसक्ने संकेत गर्दछ ।

यसघि गठबन्धनको आडमा बाजी मारेका नेपाल भ्रष्टाचारको आरोपमा मुछिएका छन् । तर पनि चुनाव लड्न किन छाडेका छैनन् भन्ने आमजनताको चासोको विषय बनेको छ ।

आफूले जिल्लामा धेरै विकास गरेकाले यस पटक पनि उम्मेदवारी दिएको उनको दाबी छ । तर उनले यो अन्तिम चुनाव भनेका छन् ।

रास्वपाका नयाँ उम्मेदवारको उपस्थितिले पनि माधव नेपालमाथि प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ । त्यसमाथि कांग्रेस र एमालेका बलिया प्रतिस्पर्धीहरू मैदानमा छन् ।

रौतहटको छिमेकी जिल्ला सर्लाही–४ बाट कांग्रेस सभापति गगन थापा उम्मेदवार बनेकाले त्यसको सकारात्मक प्रभाव यस क्षेत्रमा आफूहरूलाई पने कांग्रेस नेताहरूको दाबी छ ।

रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई सम्भावित प्रधानमन्त्रीका रूपमा अघि सारेपछि मधेशमा जनधारणा परिवर्तन हुँदै गएको देखिन्छ ।