अस्पतालबाट फर्केपछि रवि लामिछानेले भने– फागुन २१ पछि संसद्मा प्रतिपक्षी पनि नयाँ हुनुपर्छ

अस्पतालबाट फर्केपछि रवि लामिछानेले भने– फागुन २१ पछि संसद्मा प्रतिपक्षी पनि नयाँ हुनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आक्रामक राजनीतिक अपिल सार्वजनिक गरेका छन् ।

‘म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछु’ भन्दै उनले अबको निर्वाचनबाट देशमा सामान्य घटना मात्र नभई इतिहास रचित हुने उद्घोष गरेका छन् ।

सभापति लामिछानेले आफूलाई पुल, भवन वा सडकका तस्वीर बेच्ने कस्मेटिक सुधारमा कुनै रुचि नभएको स्पष्ट पारे । उनले कुशासनको मुख्यालय बनेको सिंहदरबारबाटै निलो क्रान्ति सुरु गर्ने प्रस्ट म्याण्डेटका साथ चुनावमा होमिएको बताए । ‘वर्षौंअघि रोपिएको अस्थिरताको वृक्षको अब जरो नउखेली कहीँकतै केही बदलिँदैन,’ उनले भने ।

लामिछानेले पुराना राजनीतिक दलहरूलाई भ्रष्टतन्त्रको ठेकेदार र आपराधिक गिरोहको संज्ञा दिँदै खुला चुनौती दिए । उनले लेखेका छन्, ‘अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ ।’

उनले फागुन २१ गतेको निर्वाचनपछि आउने संसद्मा सत्तापक्ष मात्र नभई प्रतिपक्ष समेत नयाँ हुनुपर्ने इच्छा राखे । उनले रास्वपाका दस्तावेजहरू पढ्ने जाँगर चलाउन आग्रह गरे । भारी शब्द प्रयोग गरेर राजनीतिलाई जटिल बनाउनुभन्दा प्राप्त उपलब्धि सहितको लोकतन्त्र जोगाउन आफूहरू प्रतिबद्ध रहेको उनले बताए ।

उनले भने, ‘तपाईंका विचारहरू तपाईंहरूलाई नै मुबारक, हामी सुशासनको घण्टी बजाउँदै विकास–कूटनीति र अर्थ–राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौं ।’

आफ्नो नाम इतिहासमा लेखिने वा मेटिने कुराको परवाह नगरी देशका सन्ततिको भविष्यका लागि जस्तोसुकै कठोर तपस्या र त्याग गर्न तयार रहेको लामिछानेले बताए । उनले आमनागरिकलाई सम्बोधन गर्दै भने, ‘केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा अब तपाईंको हातमा सुम्पिएका छौं ।’

उपचारका क्रममा केही दिन अस्पताल बिताएका लामिछाने अब देशव्यापी रूपमा जनसमुदायसँग प्रत्यक्ष संवादका लागि निस्किने तयारीमा छन् ।