कीर्तिपुरले तय गर्छ काठमाण्डु-१० मा जित र हार

कीर्तिपुरले तय गर्छ काठमाण्डु-१० मा जित र हार

कांग्रेसको ‘ह्याट्रिक’ तोड्ने अन्य दलहरूको रणनीति


काठमाण्डु- प्रतिनिधिसभा निर्वाचन आउनै लाग्दा काठमाण्डु–१० मा पनि चुनावी माहोल तातिएको छ ।

यस क्षेत्रबाट गत निर्वाचनमा लगातार ‘ह्याट्रिक’ गरेका नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी चुनावी मैदानबाट बाहिरिएपछि यहाँको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट नयाँ अनुहार मैदानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो निर्वाचनकै उम्मेदवारलाई फेरि उठाएको छ ।

कांग्रेसका केसीले चुनाव नलड्ने भएपछि हिमाल कार्की उम्मेदवार बनेका छन् । मजदुर आन्दोलनबाट उदाएका विनोद श्रेष्ठ एमालेका उम्मेदवार हुन् । यस्तै, नेकपाबाट रूपा महर्जन मैदानमा छिन् ।

२०७० मा तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पराजित गरेपछि चर्चामा आएका कांग्रेसका केसी तीन पटकसम्म लगातार चुनाव जितेका हुन् । उनले २०७० देखि २०७९ सम्म लगातार तीन चुनाव जितेका हुन् । उनको ‘ह्याट्रिक’पछि कांग्रेसले यो क्षेत्रलाई आफ्नो बलियो पकड मान्दै आएको छ । तर केसी मैदानमा नभएपछि अन्य दलहरूले त्यसको फाइदा उठाउन सक्ने सम्भावना पनि छ ।

त्यसैले काठमाण्डु–१० मा विरासत जोगाउने र भत्काउने दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । कांग्रेसको लामो वर्चस्वबाट मतदातामा विकल्प खोज्ने रणनीति कांग्रेस इतर दलहरूको छ ।

कांग्रेसका कार्की संसदीय यात्राका अनुहार भएपनि उनलाई केसीका विश्वास पात्रका रूपमा चिनिन्छन् । केसीको विरासतको प्रभावलाई कांग्रेसले नयाँ रणनीति बनाएको छ । यस क्षेत्रमा कांग्रेसको प्रभाव कीर्तिपुर, चन्द्रागिरी र दक्षिणकाली तीनै पालिकामा रहेको छ ।

एमालेकका श्रेष्ठ पनि नयाँ अनुहार हुन् । मजदुर आन्दोलनबाट उदाएका उनी पार्टी संगठन र कार्यकर्ताबीच परिचित हुन् । श्रेष्ठको उम्मेदवारीबाट एमालेले नेवार समुदायको मत बटुल्ने रणनीतिमा छ । कीर्तिपुर, चन्द्रागिरी र दक्षिणकाली क्षेत्रमा नेवार समुदायको बाक्लो उपस्थिति छ ।

गत निर्वाचनमा रास्वपा तेस्रो भएको थियो भने समानुपातिकमा राम्रो मत ल्याएको थियो । यही आधारमा रास्वपाले फेरि विष्टलाई नै टिकट दिएको हो । विष्ट पार्टीका काठमाण्डु जिल्ला सभापति पनि हुन् ।

पुराना दलहरूबाट असन्तुष्ट मतदातालाई आफूतिर आकर्षित गर्ने रणनीति रास्वपाको छ । नेकपाकी उम्मेदवार महर्जन संविधानसभा सदस्य र तत्कालीन माओवादी युद्धमा लडेकी हुन् । नेकपा एकीकृत भएपछि वाम मत आफ्नो पक्षमा आउने नेकपाको विश्लेषण छ ।

कीर्तिपुर निर्णायक

विगतको निर्वाचन परिणामका आधारमा यसपटक पनि यहाँ कडा प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिका निर्वाचन इतिहास नियाल्दा काठमाण्डु–१० ले पटक–पटक ‘सरप्राइज’ दिएको छ ।

२०६४ मा प्रचण्डको जित, २०७० मा उनकै हार, त्यसपछि कांग्रेसको ‘ह्याट्रिक’ले यो क्षेत्रले अबको निर्वाचनमा कस्तो निर्णय गर्छ यसै भन्न सकिँदैन ।

२०७९ को चुनावमा कांग्रेसको मत उल्लेखनीय रूपमा घटेको थियो भने एमाले–माओवादी गठबन्धनको पक्षमा पनि कम मतदान भएको थियो । त्यसको फाइदा रास्वपाले पाएको थियो ।

यस क्षेत्रको परिणाम कीर्तिपुरले तय गर्दै आएको छ । कीर्तिपुरको मत निर्णायक र विशेष रहने गरेको विगतको नतिजाले देखाउँछ ।

नेपाल एकीकरणका सूत्रपात गर्ने पृथ्वीनारायण शाहलाई समेत कीर्तिपुरले कहिले जिताएको र कहिले हराएको रोचक इतिहास छ । यसैले कीर्तिपुर निर्णायक बन्दा यस क्षेत्रको अंक गणित र परिणाम प्रभावित हुनेगर्छ ।

अहिले कांग्रेसलाई ‘ह्याट्रिक’को विरासत जोगाउने चुनौती छ भने एमालेलाई आफ्नो गुमेको आधार फर्काउनु पर्ने चिन्ता छ ।

नेकपाले प्रचण्डको जस्त जित फेरि खोजेको छ भने रास्वपाले पनि यहाँ आफनो झण्डा गाड्न चाहको छ ।

काठमाण्डु–१० संघीय राजधानीको एक महत्वूर्ण निर्वाचन क्षेत्र पनि हो । यो काठमाण्डु जिल्लाको १० संसदीय निर्वाचन क्षेत्रमध्ये एक हो । यस संसदीय क्षेत्रमा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ वडा छन् । यहाँ ८३ हजार बढी मतदाता छ भने महिला मतदाताको संख्या धेरै छ ।