काठमाण्डु – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने १ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको तार्केश्वर गाउँपालिका–१ स्थायी ठेगाना भई हाल काठमाण्डु महानगरपालिका–१६ बस्ने ३६ वर्षीया कुमारी तामाङ रहेकी छिन् ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार तामाङले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाई बेलायत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेकी थिइन् । वैदेशिक रोजगारीमा नपठाई पीडितहरूसँग रकम लिएर उनी सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए ।
२ जनाबाट ७ लाख ९० हजार ठगी प्रहरीका अनुसार तामाङले २ जना पीडितबाट कुल ७ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई माघ २१ गते काठमाण्डु महानगरपालिका–१२ बाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।




प्रतिक्रिया