बाँके – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले इलाका प्रहरी कार्यालय कोहलपुरको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित कार्यक्रमबिच उद्घाटन गरेका छन् ।
सो अवसरमा उनले नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षरोपण समेत गरेका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावलाई प्रशंसापत्र प्रदान गरे । उक्त अवसरमा आईजीपी कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकविरूद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा लिएको बताए । नवनिर्मित भवनबाट प्रवाह हुने सेवाको गुणस्तर वृद्धि हुनुका साथै नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा सुरक्षित गर्न समेत टेवा पुर्याउने विश्वास उनले व्यक्त गरे । विगत लामो समयदेखि बेलायत सरकारले विभिन्न परियोजनाहरूमार्फत नेपाल प्रहरीको क्षमता विकास, पूर्वाधार विकास, प्रशिक्षण र सुमदायसँग समन्वय र सहकार्य बढाउनका लागि सहयोग उपलब्ध गराउँदै आएको चर्चा समेत उनले गरे ।
कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलकुमार तामाङ र यूएनओपीएस नेपालका कन्ट्री म्यानेजर कोमल कार्कीले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र खत्रीले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा यूएनओपीएसका अपरेसनल कोअर्डिनेटर एवं अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा यूएनओपीएसका इन्फ्रास्टक्चर म्यानेजर शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । यूएनओपीएसको सहयोगमा कुल २ करोड १४ लाख ७३ हजार १०७ रूपैयाँ ६१ पैसाको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको छ ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, सञ्चारकर्मी एवम् स्थानीयको उपस्थिति थियो ।




प्रतिक्रिया