प्रतिनिधिसभा निर्वाचनका लागि ७२ लाखभन्दा बढी मतपत्र छपाइ

प्रतिनिधिसभा निर्वाचनका लागि ७२ लाखभन्दा बढी मतपत्र छपाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मतपत्र छपाइ तीव्र रूपमा अगाडि बढेको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र सानोठिमीमा भइरहेको छ ।

आयोगका अनुसार मिति २०८२ पुस २२ गतेदेखि सुरु गरिएको नमूना मतपत्र छपाइअन्तर्गत १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भई विभिन्न जिल्लामा पठाइसकिएको छ ।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका मतपत्र छपाइ मिति २०८२ पुस २६ गतेबाट सुरु भई माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको छ ।

छपाइ गरिएका मतपत्रहरू प्याकिङ्ग तथा रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत आवश्यक पर्ने कुल २ करोड ३ लाख २३ हजार मतपत्रमध्ये माघ १६ गतेदेखि छपाइ सुरु गरिएकोमा माघ २२ गते बिहान ८ बजेसम्म विभिन्न निर्वाचन क्षेत्रका ७२ लाख ६० हजार मतपत्र छपाइ भइसकेको छ । ती मतपत्रहरू ५ हजार ८२५ बाकसमा प्याकिङ्ग गरिएको छ ।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ्ग कार्य सम्पन्न भइसकेको छ ।

बिहीबार बिहान ८ बजेसम्म ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ ।