काठमाण्डु – बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको छ ।
शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ ।
यस्तै राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली थोरै स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आइतबार भने देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का सम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया