बाजुरामा चार पक्षीय प्रतिस्पर्धा, कांग्रेस-एमालेलाई हम्मेहम्मे

बाजुरामा चार पक्षीय प्रतिस्पर्धा, कांग्रेस-एमालेलाई हम्मेहम्मे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि बाजुरामा दलहरूले चुनावी अभियान सुरु गरिसकेका छन् । उनीहरू अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् ।

नेपाली कांग्रेसले जनकराज गिरीलाई निर्वाचित गराउन घरदैलो अभियानमा जुटेको छ । २०७९ को जस्तै विरासत जोगाउने दाउमा कांग्रेस चुनावी मैदानमा उत्रेको छ ।

२०७९ सालको निर्वाचनमा कांग्रेसले सहज जित निकालेको थियो। त्यतिबेला बाजुरामा कांग्रेसका बद्री प्रसाद पाण्डे ३१ हजार ७ सय ८६ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कर्णबहादुर थापा थिए । जसले २६ हजार ३ सय ४९ मत ल्याएका थिए। कांग्रेस पुनः यहि विरासतलाई जोगाउने अभियानमा छ ।

एमाले गत निर्वाचनको हारको बदला लिने तयारीमा छ । त्यस्तै अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि चुनाव जित्ने दाउमा छन् ।

कांग्रेस आफ्नो विरासत टुटाउने पक्षमा भने छैन् । कांग्रेसका उम्मेदवार नेता गिरी पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन् । उनी २०५६ सालमा भूमी सुधार तथा सहायकमन्त्री समेत बनेका थिए ।

बाजुरामा अहिले मुख्य चार राजनीतिक दल प्रतिस्पर्धामा देखिएका छन् । कांग्रेसका गिरीसगै नेकपा एमालेका लाल बहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हेमराज थापा मुख्य प्रतिस्पर्धामा छन् । कांग्रेस र एमालेलाई जित हासिल गर्न भने हम्मेहम्मे हुने संकेत देखिएको छ ।

कतिपय मतदाता खास गरी कांग्रेसका गिरी र एमालेका थापाको विशेष प्रतिस्पर्धा हुने बताउँछन् भने केहीले गिरी र नेपाली कम्युनिष्ट पार्टीका प्रकाश शाहबिच मात्र प्रतिस्पर्धा हुने बताएका छन् ।

गिरी र थापा योभन्दा पहिला पनि प्रतिनिधि सभा सदस्य पदमा विजयी उम्मेदवार हुन् । त्यसै गरी शाह पनि प्रदेश सभा सदस्यका विजयी उम्मेदवार हुन् । रास्वपामा थापा भने पहिलो पटक प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।

यसभन्दा पहिला बाजुरामा कांग्रेस र एमालेको मात्र प्रतिस्पर्धा हुन्थ्यो । तर यतिबेला भने नेपाली कम्युनिस्ट पार्टी र रास्वापासमेतको रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि मतदाताको चासो बढेको छ । रास्वपाको अहिले सुरु भएको घरदैलो अभियानमा युवाको पनि सहभागिता देखिएको छ ।

बाजुरामा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र अन्य दुई गरी ८७ हजार ८६१ जना मतदाता छन् ।