तस्बिरमा प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता

तस्बिरमा प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता


काठमाण्डु – २६३औँ नेपाल सेना दिवसको अवसरमा नेपाल सेनाले शनिबार काठमाण्डुमा प्रधान सेनापति खुला म्याराथन आयोजना गरेको छ ।

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले आयोजना गरेको प्रतियोगिता प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरेका थिए।

‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा ४२.१९५ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमि दूरीको हाफ म्याराथन भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरियो ।

हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमशः एक लाख, ७५ हजार र ५० हजार प्रदान गरिएको छ ।

सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकाश प्राप्त तथा सेवारत सकल दर्जा र गैरसैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किमि दूरीको दौड आयोजना गरिएको हो । पाँच किमि दूरीको वाकाथनमा प्रधानसेनापति सिग्देललगायत सैनिक तथा गैरसनिक व्यक्ति सहभागी भए।

सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित पाँच किमि दूरीको दौड पूरा गरे।

दश किमि र पाँच किमि दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद प्रदान गरिएको छ ।

२०७२ देखि प्रत्येक वर्ष महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजना हुँदै आएको यस ११ संस्करणको प्रतियोगितामा विभिन्न पाँच विधामा करिब दुई हजार ५०० धावकको सहभागिता थियो।

यस वर्ष महाशिवरात्री तथा सेना दिवस आगामी फागुन ३ गते परेको छ।