कनठमाण्डु – एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा पनि निर्वाचनको माहोलले वातावरण तातिएको छ ।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका डा. महावीर पुनको आगमनले यहाँको राजनीति तरंगित भएको । म्याग्दी पुनको पुख्यौली थलो हो ।
यहाँ विभिन्न दलसहित स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अर्जुन थापासहितका उम्मेदवार मैदानमा छन् । उनीहरूसँगको प्रतिस्पर्धामा पुन स्वतन्त्र भएर लड्दैछन् ।
यसका साथै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले द्वन्द्वकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति क्षेत्रबहादुर घिमिरे (धुव्र)लाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवराज रोकासहितका उम्मेदवार छन्।
रास्वपाले उम्मेदवारी दिएपनि सार्वजनिक रूपमै पुनलाई सघाउने घोषणा गरेको छ ।
राष्ट्रिय राजनीतिमा सृजना भएको फरक परिवेश, नयाँ राजनीतिक शक्तिहरूको उदय, प्रतिस्पर्धी उम्मेदवारको प्रभाव तथा सम्बद्ध राजनीतिक दल तथा उम्मेदवारहरूको रणनीतिले यहाँको चुनावी परिणाम रोचक भनेको स्थानीयहरू बताउँछन् ।
विगतका चुनावमा राष्ट्रियस्तरमा ओझेलमा पर्ने म्याग्दीको चुनावलाई यसपालि रोमन म्यागासेसे पुरस्कार विजेता पुनको उम्मेदवारीले चर्चामा ल्याएको छ ।
साथै दलहरूको सांगठनिक आधार र स्वतन्त्र उम्मेदवारको प्रभावका कारण पनि चुनावलाई झन रोचक बनाएको छ । एमालेका श्रेष्ठ दोस्रोपटक उम्मेदवार बनेका हुन् भने बाँकी सबै पहिलोपटक प्रतिस्पर्धामा उत्रिएका छन्।
२०५६ को संसदीय चुनावमा नेपाली कांग्रेसका नारायणसिंह पुन र त्यसअघि एमालेकै निल पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
२०६४ को संविधानसभाको पहिलो निर्वाचनमा माओवादीका गोविन्द पौडेल र २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एमालेका नवराज शर्मा विजयी भएका थिए।
२०७४ यता यसपालि दलहरूबिच एक्लाएक्लै गठबन्धन नगरी प्रतिस्पर्धा हुन लागेको हो। त्यस निर्वाचनमा एमालेका भूपेन्द्र थापा तत्कालीन वाम गठबन्धनबाट विजयी भएका थिए ।
२०७९ को निर्वाचनमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलहरूको गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी भएका थिए।
म्याग्दीको एउटा निर्वाचनमा ८६ हजार ३९७ जना मतदाता छन्। यहाँ ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र छन् ।




प्रतिक्रिया