नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा देशैभर तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी सम्बन्धी विषयमा शनिबार नुवाकोट र धादिङ जिल्लाको स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका उनले निर्वाचनको सुरक्षा बन्दोबस्त गरिएको बताए ।
निरीक्षण अनुगमनको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र गृहमन्त्री अर्यालको सचिवालय सदस्यहरू सहभागी छन् ।
सो क्रममा मन्त्री अर्यालले भने, ‘चुनाव स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा गराउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौं र त्यो कुरा तपाईंहरूले हाम्रो आचरण र व्यवहारबाट पनि महसूस गरिसक्नुभएको छ र गर्दै पनि जानुहुनेछ ।’ उनले चुनावमा अहिले चलिरहेको मिथ्या र भ्रामक सूचनाहरूबाट सचेत भई आ–आफ्नो निर्वाचन तयारीमा लाग्न सम्बद्ध सबै पक्षसँग आग्रहसमेत गरे ।
नुवाकोटको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले प्रस्तुत गरेको निर्वाचन तयारीबारेको प्रस्तुतीकरण हेरिसकेपछि गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए ।
निरीक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले कार्यालयले हालसम्म गरिएका तयारीबारे टोलीलाई जानकारी गराएका थिए । बैठकमा जिल्लाका २ वटै निर्वाचन क्षेत्रका जिल्ला निर्वाचन अधिकृतहरू, जिल्लास्थित सबै सुरक्षा निकायका अधिकारीहरूको पनि उपस्थिति थियो ।
निरीक्षण भ्रमणपछि जानकारी दिँदै मन्त्रालयका प्रवक्ता तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेले नुवाकोट र धादिङ जिल्लामा हालसम्म जिल्ला निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतहरूको राम्रो सम्मन्व्यमा जिल्लाको निर्वाचनको तयारी प्रभावकारी रूपमा अघि बढेको बताए ।
शनिबारै गृहमन्त्री अर्याल सहितको सोही टोली नुवाकोटबाट धादिङ पुगेर जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचनको तयारीबारे जिल्ला सुरक्षा समितिका पदाधिकारी र मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतहरूसँग जानकारी लिएको छ ।




प्रतिक्रिया