उम्मेदवारलाई करार पत्रमा हस्ताक्षर गराउने रास्वपाको तयारी

उम्मेदवारलाई करार पत्रमा हस्ताक्षर गराउने रास्वपाको तयारी


जनकपुरधाम – आसन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारहरूले केन्द्रीय कार्यालयमा करार पत्रमा हस्ताक्षर गर्नुपर्ने भएको छ ।

शनिबार जनकपुरधाममा रास्वपाद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता एवं धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार मनिष झाले करार गर्नुपर्ने जानकारी दिए ।

कार्यक्रममा बोल्दै झाले अन्य पार्टीहरूसरह घोषणा पत्रको साटो वाचापत्र सार्वजनिक गर्ने पार्टीले निर्णय गरेको बताए । उनले देशभरका रास्वपाबाट उठेका उम्मेदवारहरूले चुनाव जिते कुन–कुन कुरा गर्ने र कुन कुरा नगर्ने भन्ने करार पत्र बनाएर पार्टीको केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित बुझाउनुपर्ने प्रवक्ता झाले जानकारी दिए ।

रास्वपाका कुनै पनि उम्मेदवारले कहिले कुनै भ्रष्टाचार गरेको मुद्दा लागे आजीवन पार्टीबाट निष्कासन गरिने उनले बताए । उनले उम्मेदवारहरुको निजी बैंक खाताको निगरानी पनि केन्द्रीय कार्यालयबाट हुने जानकारी दिए ।

प्रवक्ता झाले आफू १० वर्ष मात्र राजनीति गर्ने बताए । उनले १० वर्ष राजनीति गर्ने र त्यसपश्चात नयाँ पुस्तालाई अवसर दिने बताए । उनले प्रशिक्षक बनेर नयाँ पुस्तालाई विकास र राजनीति सिकाउने जानकारी दिए ।

झाले आसन्न निर्वाचनमा रास्वपाको लक्ष्य जीत हासिल गर्नु मात्र नभई ऐतिहासिक मत ल्याएर जीत हासिल गर्नु रहेको बताए । उनले मधेश प्रदेशबाट सबैभन्दा बढी मत ल्याएर सदनमा मधेशको राजनीति परिवर्तन भइसकेको सन्देश दिने बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २०० जनाभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताहरू रास्वपामा प्रवेश गरेका थिए ।