यी हुन् मधेशका ‘हेभीवेट’ निर्वाचन क्षेत्र

यी हुन् मधेशका ‘हेभीवेट’ निर्वाचन क्षेत्र

पूर्वप्रधानमन्त्री, भावि प्रधानमन्त्रीदेखि पूर्वउपप्रधानमन्त्रीसम्म मैदानमा


काठमाण्डु- प्रतिनिधि सभा निर्वाचन २०८२ मा मधेश प्रदेशका आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा १ हजार ५४ जना चुनावी मैदानमा छन् ।

सबैभन्दा बढी १ सय ५४ जनाले धनुषामा उम्मेदवारी दिएका छन् भने सप्तरीमा सबैभन्दा कम १ सय ४ जना उम्मेदवार मैदानमा छन् ।

टिकटका लागि दल फेर्नेदेखि निर्वाचन क्षेत्र फेर्नेसम्म अनि पूर्वमन्त्रीदेखि भावी प्रधानमन्त्रीका दावेदारसम्मको उम्मेदवारीले मधेशको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

पूर्वउपप्रधानमन्त्री पनि रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव यसपटक सप्तरी–३ बाट उम्मेदवार बनेका छन् भने जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सप्तरी–२ बाट प्रतिस्पर्धा गरिरहेका छन् ।

मधेशका पूर्वमुख्यमन्त्री सतिश सिंह सप्तरी–२ बाट उम्मेदवार बनेका छन् ।

धनुषा–४ बाट एमाले उपमहासचिव रघुवीर महासेठ र धनुषा–३ बाट उनकी पत्नी जुलीकुमारी महतोको उम्मेदवार छन् ।

धनुषा–३ बाटै नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधि र रास्वपा प्रवक्ता मनिष झा पनि चुनावी प्रतिस्पर्धामा उत्रिँदा प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नेकपाबाट महेन्द्र राय यादव पुरानै क्षेत्र सर्लाही–२ बाट प्रतिस्पर्धामा छन् ।

नेकपा नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३ मा उम्मेदवार बनेका छ भने सर्लाही–बाट नेपाली कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टी सभापति गगन थापा उम्मेदवार छन् । यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पूर्वकांग्रेसी नेता अमरेशकुमार सिंह उठेका छन् ।

रौतहट–१ मा नेकपाबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साह, ४ मा आजपाबाट सञ्चारकर्मी ऋषि धमला उम्मेदवार बन्दा चर्चामा छ ।

सर्लाही–४

कांग्रेस सभापति गगन थापा उठेको क्षेत्र हो यो । पार्टी सत्ताबाट शेरबहादुर देउवालाई विस्थापित गर्दै नेतृत्वमा आएका उनी देशकै नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।

२०७० देखि लगातार जित्दै आएको काठमाण्डु–४ छाडेर थापा मधेश झरेका हुन् । कांग्रेसबाट भावी प्रधानमन्त्रीमा प्रस्तावित उनले सुरक्षित क्षेत्र छोडेर सर्लाही–४ रोज्नुमा मधेशको मनोविज्ञान आफूतिर आकर्षित गर्नु रहेको धेरैको बुझाइ छ । तर, आफ्नै पूर्वसहकर्मी अमरेशकुमार सिंह मैदानमा उत्रिएकाले चुनौती पनि उत्तिकै छ ।

२०४८ देखि २०५६ सम्मका सबै निर्वाचन तत्कालीन कांग्रेस नेता महन्थ ठाकुरले जितेका थिए । मधेश आन्दोलनपछि उनले कांग्रेस छोडेसँगै सिंहको उदय भयो । तर, अघिल्लो निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका उनी कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्रकुमार रायलाई हराउँदै निर्वाचित भए ।

सिंह यसपटक रास्वपाबाट उम्मेदवार बनेका हुन् । सर्लाही–४ मा एमालेले अभनिशकुमार यादव, नेपाली कम्युनिष्ट पार्टीले डा. रजनीश राय यादव र जसपाले पूर्वमन्त्री रामेश्वर राय यादवलाई मैदानमा उतारेका छन् । तर मुख्य प्रतिस्पर्धा थापा र सिंहबीच हुने अनुमान छ ।

सर्लाही–३

नेकपाका नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ उम्मेदवार रहेको यी क्षेत्र पनि चसो र चर्चामा छ । जसरी सर्लाही–४ लाई कांग्रेसको गढ मानिन्छ, यो क्षेत्र कम्युनिष्टहरूको वर्चस्व रहँदै आएको क्षेत्र हो । २०७९ को चुनावमा यस क्षेत्रबाट विजेता र उपविजेता दुबै कम्युनिष्ट पार्टीका उम्मेदवार थिए ।

अघिल्लो चुनावमा एमालेका हरिप्रसाद उप्रेती विजयी हुँदा तत्कालीन माओवादी केन्द्रका नरेन्द्र कलवार मुख्य प्रतिस्पर्धी रहे । यी दुवै यसपटक पनि चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा श्रेष्ठ र उप्रेतीकै बीचमा हुने अनुमान छ ।

कलवार अहिले रास्वपाबाट उठेका छन् । यस क्षेत्रमा अंकगणित श्रेष्ठको पक्षमा देखिए पनि परिस्थिति भने सहज छैन ।

सप्तरी–३

मधेश आन्दोलन र संघीयताको नेतृत्वकर्ता जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेकाले यो क्षेत्र चर्चाको केन्द्रमा छ ।

२०७४ को निर्वाचनमा सप्तरी–२ बाट जितेका उनी २०७९ मा त्यही क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बर बढी मतान्तरले पराजित भए । यस क्षेत्रबाट कांग्रेसका दिनेशकुमार यादव उम्मेदवार छन् ।

सप्तरी–२

जनमतका अध्यक्ष सिके राउतविरुद्ध उनकै कार्यकर्ता प्रतिस्पर्धामा उत्रिएकाले यो क्षेत्र पनि चर्चा र चासोमा परेको छ ।

राउतसँगै यहाँ कांग्रेसका रामकुमार यादव, एमालेका मोहमद जियाउल रहमान, नेकपाका सूर्यनाथ यादव, जसपाका उमेश यादव, रास्वपाका रामजी यादवलगायत चुनावी मैदानमा छन् ।

अघिल्लो निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराएका राउतविरुद्ध उनकै पार्टीबाट मधेशको मुख्यमन्त्री बनेका सतिशकुमार सिंह उत्रिएका छन् ।

यस्तै जनमत पार्टीबाट अलग भएर स्वाभिमान पार्टी गठन गरेका उनी यो क्षेत्रबाट उम्मेदवार बनेकाले यहाँको चुनावी प्रतिस्पर्धा रोचक हुने विश्लेषण गरिएको छ ।

धनुषा–३

कांग्रेसका विमलेन्द्र निधि, रास्वपाका मनीष झा र एमालेका जुलीकुमारी महतोको त्रिपक्षीय भिडन्त यस क्षेत्रमा हुँदै छ । गत निर्वाचनमा महतोले जितेको यो क्षेत्रमा कांग्रेस र रास्वपाले ‘हेभिवेट उम्मेदवार’ उठाएकाले प्रतिस्पर्धा रोचक हुने देखिन्छ


रास्वपालाई मधेशमा फैलाउने अभियानसहित चुनावमा होमिएका झा र कांग्रेसको बिरासत जोगाउन कस्सिएका निधिबीचको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छ ।

रौतहट–१

रौतहट–१मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ३९ जना उम्मेदवार छन् । हालै नेपाली कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री अनिलकुमार झा यसै निर्वाचन क्षेत्रमा उम्मेदवार छन् । रोचक त यो छ कि दुवै नेता यस पटक साबिकको भन्दा भिन्न दल र चुनाव चिह्न लिएर मैदानमा उत्रिका हुन् ।

पूर्वप्रधानमन्त्री नेपाल नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्दा झा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । लामो समय नेकपा एमालेको नेतृत्व गरेका नेपालले एमालेभित्र विद्रोह गरी आफ्नै नेतृत्वमा गठन गरेको नेकपा एकीकृत समाजवादीका तर्फबाट २०७९ को निर्वाचनमा उम्मेदवार थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगको गठबन्धनका आधारमा उनी यो क्षेत्रबाट निर्वाचित भएका थिए ।

अर्कोतिर झा भने लामो समय मधेश केन्द्रित दलमा रहेर राजनीति गर्दै आएका नेता हुन् । उनी २०७९ को निर्वाचनमा उनी लोसपा नेपालबाट धनुषा–३ मा उम्मेदवार थिए र दोस्रो भएका थिए ।

धनुषामा पराजित भएका झा यस पटक नेपाली कांग्रेसको चुनावचिह्न लिएर आफ्नै गृहजिल्लाबाट उम्मेदवार बनेका हुन् ।