काठमाण्डु – नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य डडेल्धुराका उम्मेदवार नैनसिंह महरले जनताको घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
महरले जनताको घरदैलोमा पुगेर जनमनका कुरा सुनिरहेका छन् । उनले तडकभडक नभई संस्कारयुक्त चुनावी प्रचार अभियान थालेका छन् ।
उनले टोलटोल र जनताको घरमा जाने, आफ्ना धारणा राख्ने र जनताका कुरा सुन्ने गरेका छन् ।
होटल–होटलमा महरको चुनावी जमघटलाई कटौती गर्दै उनले जनतासँगै समय व्यथित गरिरहेको बताए । महर विद्यार्थी राजनीतिबाट खारिएर आएका बौद्धिक छवी बनाउन सफल नेता हुन् ।
यसपटक पूर्वप्रधानमन्त्री एवं कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बनेर उनी डडेल्धुरा पुगेका छन् । महरलाई देउवाको विरासत जोगाउने चुनौती छ ।
महर डडेल्धुरामा कांग्रेस एकतावद्ध रहेकाले जीत सुनिश्चित रहेको बताउँछन् । ‘अग्रज नेताहरूको हात समातेर म डडेल्धुराका गाउँबस्तीमा तातेताते गरिरहेको छु । युवाहरूको जोशलाई पनि म हातेमालो गरेर अगाडि बढेको छु । मेरा श्रद्वेय नेता शेरबहादुर देउवाको मलाई आशीर्वाद छ । कांग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउद, आदरणीय नेताहरू गोविन्द बोहरा, रघुवर भट्टलगायत थुप्रै नेताहरूले मलाई जिल्लामा डोर्याइरहनुभएको छ । जनताको सुझाव, प्रतिक्रिया र साथ पनि मैले राम्रो पाइरहेको छु,’ उनले भने ।
‘म युवा जोश र समृद्ध चेतना भएको व्यक्ति हुँ । यही माटो र जनताको आशीर्वादका कारण म नेविसंघ अध्यक्ष हुँदै मुलधारको राजनीति गरिरहेको छु । म आफ्नो विचार प्रस्ट राख्न सक्ने क्षमता राख्छु । मैले डडेलधुराको माटो चिनेको छु । यहाँका जनताका समस्या अवगत छन् । सदनमा ती समस्यालाई बुलन्द रूपमा उठाएर समाधानका लागि मैले नेतृत्व लिन सक्छु,’ उनले भने ।
महरले आफूलाई देउवाले आफ्नो उत्तराधिकारीको रूपमा पठाएको बताएका छन् । ‘विश्वास गरेर श्रद्धेय नेता शेरबहादुर देउवाले युवा अनुहारका रूपमा मलाई पठाउनुभएको छ । आफ्ना बाँकी रहेका योजना र सपना पूरा गर्न उहाँले डडेल्धुरा पठाउनुभएको हो । उहाँका सपना पूरा गर्न म सधैँ प्रतिबद्ध रहनेछु,’ उनले भने ।
समृद्ध डडेल्धुराको सपना साकार पार्न सधैँ अग्रमोर्चामा रहेर काम गर्ने महरले जनतामाझ वाचा गरिरहेका छन् । ‘श्रद्वेय नेता शेरबहादुर देउवाको शीर उचो हुने गरी काम गर्नेछु । डडेल्धुरा देवभूमि हो । यस पावन भूमिले भीमदत्त पन्त, द्वारिकादेवी ठकुरानी, एनडी प्रकाश चटौत, शेरबहादुर देउवा जस्ता सपुत जन्माएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँहरूको अतुलनीय योगदान छ । जुन हामी सबैका लागि गौरवको विषय हो । उहाँहरूका सपना पूरा गर्ने पार्टी कांग्रेस मात्र हो । त्यसैले मलाई विजयी गराउन म जनतासँग आग्रह गर्दछु,’ उनले भने ।
जनताको पार्टी भएकाले कांग्रेसले मात्रै जनभावना अनुसार काम गर्ने महरले बताएका छन् । ‘आकाशे दलको भर छैन । खहरे जस्तै आएका राजनीतिक दल कतिखेर विलिन हुन्छन्, थाहा हुँदैन । त्यसैले राष्ट्रिय अन्तर्राष्ट्रिय विस्वास जितेको प्रत्येक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसलाई विजयी गराउनु नै अहिलेको आवश्यकता हो,’ उनले भने ।
अहिले देश असहज परिस्थितिमा रहेकाले यसको सही निकास दिन सक्ने पार्टी पनि नेपाली कांग्रेस भएको महरले बताएका छन् । ‘राणा शासनको अन्त्य कांग्रेस नेतृत्वमै भयो । राजतन्त्रको अन्त्य कांग्रेसले नै गर्यो । सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्ति प्रक्रियाको मूल धारमा ल्याउने काम कांग्रेस नेतृत्वमै भयो । संविधान कांग्रेस नेतृत्वकै सरकारले जारी गर्यो । त्यसैले मुलुक अप्ठ्यारोमा पर्दा सधैँ अभिभावकीय निर्वाह गर्ने पार्टी कांग्रेस हो । यसपटक पनि मुलुक असहज परिस्थितिमा रहेकाले राजनीतिक निकासका लागि कांग्रेसको जीत आवश्यक छ,’ उनले भने । डडेल्धुरा ३४ वर्षदेखि देउवा चुनाव जित्दै आएको क्षेत्र हो ।




प्रतिक्रिया