काठमाण्डु – फागुन २१ गते हुने निर्वाचनको प्रचारप्रसारका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको छ।
प्रत्यक्षतर्फका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक अवस्था, पहुँच, सुविधा र सेवा नेटवर्क मूल्यांकनका आधारमा आयोगले पाँच वर्गमा विभाजन गरेको छ। सोही आधारमा तोकिएको सीमाभित्र रहेर उम्मेदवारहरूले खर्च गर्न पाउने आयोगले स्पष्ट पारेको छ ।
उम्मेदवारले गर्न पाउने अधिकतम खर्चसीमा क्षेत्रअनुसार २५, २७, २९, ३१ र ३३ लाख रुपैयाँसम्म तोकिएको छ। निर्वाचन क्षेत्रका आधारमा उम्मेदवारले तोकिएको सीमाभित्र रहेर खर्च गर्न पाउने छन्।
उम्मेदवारले अधिकतम खर्च २५ लाख रुपैयाँ गर्न पाउने क्षेत्रहरुमा काडमाण्डुका सहरी क्षेत्र छन्। काठमाण्डुका–१, ३ , ६ , ७ र ८ का उम्मेदवारले अधिकत्तम निर्वाचन खर्च २५ लाख रुपैयाँ मात्र गर्न पाउने छन्।
यसैगरी अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने क्षेत्रहरूमा ताप्लेजुङदेखि बैतडीसम्मका २६ वटा छन्। ताप्लेजुङ–१, पाँचथर–१, संखुवासभा–१, सोलुखुम्बु–१, खोटाङ–१, दोलखा–१, रामेछाप–१, काभ्रेपलाञ्चोक–१ र २, मकवानपुर–१ र २, गोरखा–१, अर्घाखाँची–१, रोल्पा–१, प्युठान–१, दाङ–१, बर्दिया–१ र २, सल्यान–१, डोल्पा–१, हुम्ला–१, जाजरकोट–१, बझाङ–१ र बैतडी–१मा उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने छन्।
त्यसैगरी उम्मेदवारहरूले अधिकतम २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्र १७ वटा छन्। यसमा तेह्रथुम–१, पर्सा–१, २ र ३, रसुवा–१, काठमाडौं–२, ४, ५, ९ र १०, भक्तपुर–२, ललितपुर–१, २ र ३, मनाङ–१, कास्की–२ र रुकुम पूर्व–१ छन्।
‘सुगम र सहरी क्षेत्रका उम्मेदवारले २५ लाख रुपैयाँ अधिकतम खर्च गर्न पाउँछन्। मध्यम श्रेणीमा परेका निर्वाचन क्षेत्रहरुका उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँ खर्च गर्न पाउने गरी तोकिएको छ ।
अन्य मध्यवर्ती क्षेत्रका उम्मेदवारले २९ लाख, थप दुर्गम तथा लामो यात्रा गर्नुपर्ने क्षेत्रका उम्मेदवारले ३१ लाख र सबैभन्दा दुर्गम र पछाडि परेका क्षेत्रका उम्मेदवारले बढीमा ३३ लाख रुपैयाँसम्म निर्वाचन खर्च गर्न पाउने कानुनी व्यवस्था गरिएको छ।




प्रतिक्रिया