काठमाण्डु – फागुन २१ गते हुने निर्वाचनका लागि अहिलेसम्म ८८ निर्वाचन क्षेत्रको एक करोड साढे नौ लाख मतपत्र छपाइको काम सकिएको छ।
निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भएको हो ।
हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत र बर्दघाट सुस्ता पश्चिम नवलपरासी गरी ३७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो। यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि मतपत्र छपाइ भइरहेको छ ।
पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ भने प्याकिङ्ग र रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ ।




प्रतिक्रिया