बंगलादेशको निर्वाचनमा भारत र चीनको आँखा

बंगलादेशको निर्वाचनमा भारत र चीनको आँखा


काठमाण्डु – बंगलादेशमा भएको पछिल्लो राजनीतिक परिवर्तनपछि फेब्रुअरी १२ मा संसदीय निर्वाचन हुँदैछ ।

२०२४मा विद्यार्थी आन्दोलनबाट सत्ताच्यूत भएकी तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि र पूर्वप्रधानमन्त्री खालिदा जियाको मृत्युपछि बंगलादेशमा पहिलोपटक निर्वाचन हुन लागेको हो ।

२०२४ अगस्टदेखि बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकार छ । सोही सरकारले निर्वाचन गराउन लागेको हो ।

राजनीति विश्लेषकहरूले बंगलादेशमा हुन लागेको निर्वाचनले देशको राजनीति मात्र नभई दक्षिण एसियाकै कूटनीति र शक्ति सन्तुलन परिवर्तन गर्न सक्ने बताएका छन् । बंगलादेशको निर्वाचनलाई भारत, चीन पाकिस्ताले नजिकबाट नियाली रहेका छन् ।

विश्लेषकहरूका अनुसार बंगलादेशको निर्वाचनले दक्षिण एसियाको शक्ति सन्तुलन पुनःआकार दिन सक्छ, जहाँ चीनले आफ्नो प्रभाव सुदृढ गर्न खोजिरहेको छ र भारतसँगको सम्बन्ध खस्किँदै गएको छ ।

भारतले प्रत्यर्पण माग हुँदाहुँदै पनि हसिनालाई आश्रय दिएको विषयले युनुस नेतृत्वमा रहेको अन्तरिम सरकार असन्तुष्ट रहँदै आएकोछ । त्यसपछि बंगलादेशले चीन र पाकिस्तानसँगको सहकार्य बढाएको छ ।

१७ करोड जनसंख्या भएको मुस्लिम बहुल राष्ट्र बंगलादेशले हसिनाको शासनकालमा चीनसँग बलियो व्यापार र रक्षा सम्बन्ध कायम राखेको थियो । तर विश्लेषकहरूका अनुसार ढाकाको प्रमुख साझेदार भने नयाँ दिल्ली नै थियो र त्यो व्यवस्था अहिले परिवर्तनतर्फ गइरहेको छ ।

अमेरिकास्थित काउन्सिल अन फरेन रिलेसन्सका वरिष्ठ फेलो जोशुआ कुर्लान्टजिकका अनुसार बंगलादेशको अन्तरिम सरकार र भविष्यको सरकार दुवै चीनतर्फ स्पष्ट रूपमा मोडिँदै छन् ।

उनका अनुसार बंगलादेश अब बंगालको खाडीसम्बन्धी चीनको रणनीतिक सोचको केन्द्र बनेको छ र चीनलाई बंगलादेशले यस रणनीतिमा चीन–समर्थक भूमिका खेल्ने विश्वास बढ्दै गएको छ ।

‘युनुसको पहिलो राजकीय भ्रमण नै चीनतर्फ हुनु यस रणनीतिक परिवर्तनको संकेत हो’, उनले भने ।

ढाका विश्वविद्यालयका डेलवार हुसेनले भने, ‘निर्वाचनको परिणाम जस्तोसुकै आए पनि बंगलादेश–चीन सम्बन्ध अझ गहिरिँदै जाने सम्भावना अब उल्ट्याउन नसकिने अवस्थामा पुगेको छ ।’

यस विपरीत हसिनाको पतनपछि नयाँ दिल्ली र ढाका बीच पटक–पटक तनाव देखिएको छ । भारतको विदेश मन्त्रालयले डिसेम्बरमा बंगलादेशमा अल्पसंख्यकमाथि निरन्तर शत्रुतापूर्ण व्यवहार भएको भन्दै निन्दा गरेको थियो । भारतको चासो विशेषगरी हिन्दुहरूमाथि भएको हिंसामा थियो ।

ढाका प्रहरीका अनुसार सन् २०२५ मा साम्प्रदायिक हिंसामा बंगलादेशका करिब ७० जना अल्पसंख्यक समुदायका सदस्य मारिएका थिए ।

ढाकाले भने भारतले हिंसाको स्तर अतिरञ्जित गरेको आरोप लगाएको छ । यद्यपि सम्बन्ध सुधारका केही प्रयास पनि भएका छन् ।

भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकर जनवरीमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टिमा सहभागी हुन ढाका पुगेका थिए । बीएनपीलाई निर्वाचनको अग्रपंक्तिको दावेदार मानिन्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि खालिदा जियाका छोरा तारिक रहमानलाई समवेदना सन्देश पठाएका थिए । बीएनपी जितेमा उनी सम्भावित प्रधानमन्त्री मानिन्छन् ।

तर भारतमा हिन्दु दक्षिणपन्थीको विरोधपछि एक बंगलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) बाट हटाइएपछि अवस्था बिग्रियो । त्यसको प्रतिक्रिया स्वरूप बंगलादेशले भारतमा भइरहेको टी–२० विश्वकप बहिष्कार गरेको छ ।

इन्टरनेशनल क्राइसिस ग्रुपका प्रविण डोन्थीका अनुसार दुवै पक्ष व्यवहारिक रहने सम्भावना छ । ‘नयाँ दिल्ली र ढाका दुवैले सम्बन्ध बिग्रँदा लाग्ने मूल्यबारे राम्ररी बुझेका छन्,’ उनले भने ।

बंगलादेशले भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग पनि सम्बन्ध विस्तार गरेको छ । यसै वर्ष जनवरीमा एक दशकभन्दा बढीपछि दुवै देशबीच प्रत्यक्ष उडान पुनः सुरु गरिएको छ ।

विशेषज्ञहरूका अनुसार नयाँ सरकारले नयाँ दिल्लीसँगको सम्बन्ध बिगार्न नदिई इस्लामाबादसँग सम्बन्ध सामान्यीकरणलाई निरन्तरता दिने सम्भावना छ । ‘नयाँ व्यवस्था विघटनभन्दा स्थिरतालाई प्राथमिकता दिनेछ,’ डोन्थीले भने ।

बंगलादेशका पूर्व कूटनीतिज्ञ हुमायुन कबीरका अनुसार निर्वाचित सरकार बनेपछि, विशेषगरी बीएनपी जितेमा भारत–बंगलादेश सम्बन्ध स्थिर हुन सक्छ ।

भारतसँग कहिल्यै कठोर विरोधमा रहेको इस्लामवादी पार्टी जमात–ए–इस्लामीले समेत आफ्नो चुनावी अभियानमा व्यावहारिक यथार्थवाद देखाएको उनले बताए ।

कडा अभिव्यक्तिका बाबजुद भारत–बंगलादेश सम्बन्धको भौतिक आधार भने अझै कायम छ ।

व्यापार स्थिर छ र हसिनाकालीन द्विपक्षीय सम्झौतामध्ये भारतीय टगबोटसम्बन्धी एउटा सम्झौता मात्र रद्द गरिएको छ ।

बंगलादेशमा भारतका पूर्व उप–उच्चायुक्त दिलीप सिन्हाले भने, ‘चीनले भारतले गर्न नसक्ने तरिकाले पूर्वाधार उपलब्ध गराउँछ ।

तर भारतले बंगलादेशलाई अत्यन्त आवश्यक कुराहरू विद्युत् र कपडा उद्योगका लागि धागो उपलब्ध गराउँछ ।’

विश्लेषकहरूका अनुसार चीनसँग बलियो सम्बन्ध हुनु भारतसँग शत्रुता हुनु अनिवार्य होइन ।