शिक्षामन्त्री पोखरेलसँग ईयू देशका राजदूतहरूको भेट

शिक्षामन्त्री पोखरेलसँग ईयू देशका राजदूतहरूको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली संघ (ईयू) मा आबद्ध विभिन्न मुलुकका राजदूतहरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार नेपालस्थित ईयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैरआवासीय राजदूतहरूले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रूपमा भेटवार्ता गरेका हुन् ।

भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा ईयूलगायत मुलुकले गर्दै आएको सहयोगका निम्ति धन्यवाद दिँदै आगामी दिनहरूमा यी देशहरुसँग थप साझेदारी बढाउन मन्त्रालय तत्पर रहेको बताए ।

मन्त्री पोखरेलले सरकारको नीति र प्राथमिकताबारे जानकारी गराउँदै विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकास लगायतका क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गरे । शिक्षामा प्रविधिको पहुँच विस्तार, उच्च शिक्षामा साझेदारीता आदि विषयमा एकअर्का मुलुकहरूबिचको समन्वयलाई बलियो बनाएर लैजानुपर्नेमा उनले जोड दिए ।

मन्त्री पोखरेलले मन्त्रालयले चालेका कदमबारे थप प्रष्ट पार्दै शिक्षामा डिजिटाइजेसन, उच्च शिक्षामा विद्यार्थी मात्रै नभएर विश्वविद्यालयहरूका ‘फ्याकल्टी मेम्बर’को एक्सचेन्जका कार्यक्रमहरू सञ्चालन गर्न तथा भविष्यमा शैक्षिक संस्था र विश्वविद्यालयहरूसँग थप सहकार्य तथा साझेदारीता बढाउन मन्त्रालय तयार रहेको उल्लेख गरे ।

मन्त्री पोखरेलले उच्च शिक्षाको पुन:संरचना गर्न लागिरहेको सन्दर्भमा विभिन्न मुलुकको विज्ञता र अनुभव साझा गर्न आग्रह गरे । उनले २ देशबिचमा खुला छलफलबाट आगामी दिनमा के कस्ता सहकार्य गर्न सकिने धारणा राखे ।

युरोपेली सम्बद्ध मुलुकका प्रतिनिधिहरूले नेपालको परिवर्तित सन्दर्भमा सरकारको प्राथमिकताको क्षेत्रका साथै नेपालको शिक्षा, खासगरी उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाएका थिए । उनीहरूले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिङ्गो ईयू इच्छुक रहेको बताउँदै नेपालको शिक्षा क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिने र उच्च शिक्षामा कसरी सहकार्य तथा साझेदारीलाई अगाडि बढाउने विषयमा जोड दिएका थिए ।

साइप्रस, रोमानिया, नेदरल्याण्डलगायत मुलुकका राजदूतहरूले शिक्षाको क्षेत्र विशेषत: उच्च शिक्षाको क्षेत्रमा सहकार्य गर्न आफूहरू तत्पर रहेको बताए । नेपालबाट साइप्रस, रोमानिया लगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि नेपालीहरू जाने गरेका सन्दर्भमा २ देशबिचको सम्बन्धलाई थप विस्तार गरेर अगाडि बढ्नुपर्ने उनीहरूको जोड थियो ।