काठमाण्डु – नवनिर्वाचित सभापति गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस नयाँ ऊर्जा र आत्मविश्वासका साथ चुनावी प्रतिस्पर्धामा होमिएको छ ।
तर पूर्वसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाका नजिकका र विशेष महाधिवेशनको कडा विरोध गरेका केही नेताहरू फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारका रूपमा मैदानमा उत्रिएका भए पनि धेरै प्रभावशाली नेताहरू उम्मेदवार तथा चुनावी अभियान दुवैबाट अनुपस्थित रहनुले पार्टीको चुनावी प्रदर्शनमा असर पर्न सक्ने पार्टीका नेता तथा कार्यकर्ताहरू बताउँछन् ।
अघिल्लो निर्वाचनमा जित हासिल गरेका उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शशांक कोइरालाका साथै पूर्व गृहमन्त्री रमेश लेखक र रामहरी खतिवडाजस्ता प्रभावशाली नेताहरूलाई यसपटक टिकट दिइएको छैन ।
सभापति थापाका नजिकका नेताहरूले विशेष महाधिवेशनका कट्टर विरोधीहरूले चुनावका बेला असहयोग गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
‘नियमित र विशेष दुवै महाधिवेशनको तीव्र विरोध गरेका देउवाका नजिकका केही नेताहरू नयाँ नेतृत्वप्रति सकारात्मक देखिँदैनन्,’ थापा निकट एक नेताले भने । उनका अनुसार यसका उनीहरूबाट असहयोग हुन सक्ने डर छ र यसले चुनावी परिणामलाई असर गर्न सक्छ ।
लामो विवाद र तीव्र आन्तरिक शक्ति संघर्षबीच कांग्रेसले पुसको अन्तिम साता दोस्रो विशेष महाधिवेशन सम्पन्न गरेको थियो । उक्त महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गर्दै उनको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो । तर देउवा पक्षले महाधिवेशनको प्रक्रिया र नतिजा स्वीकार गर्न अस्वीकार गरेको छ ।
यसै कारण देउवा पक्षले दोस्रो विशेष महाधिवेशनको वैधता सुरुमा निर्वाचन आयोगमा र पछि सर्वोच्च अदालतमा चुनौती दियो ।आयोगले महाधिवेशनमा ५६ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको भन्दै त्यसलाई वैध ठहर गर्यो ।
सर्वोच्च अदालतमा देउवा पक्षीय व्यक्तिहरूले दायर गरेको रिट निवेदन अझै विचाराधीन अवस्थामा छ ।असन्तुष्ट समूहबाट असहयोग हुन सक्ने चिन्ता थापाका नजिकका नेताहरूमा मात्र सीमित छैन, यो डर तल्लो तहसम्म फैलिएको छ ।
यदि डडेलधुरामा देउवा, सुर्खेतमा पूर्व उपसभापति खड्का वा काठमाण्डुमा सिंहजस्ता नेताहरूले चुनावमा सक्रिय समर्थन नगरे त्यसले अवश्य नोक्सान पुर्याउन सक्ने चिन्ता थापा पक्षीय नेताहरूको छ ।
अघिल्ला चुनावमा आफ्ना बलियो क्षेत्रबाट जितेका देउवाजस्ता नेताहरू मौन बसे भने परिणाम आफ्नो पक्षमा नआउने थापा पक्षका नेताहरूको भनाइ छ ।तर जेन–जी आन्दोलनको पृष्ठभूमिमा प्रतिनिधिसभा निर्वाचनअघि भएको नेतृत्व परिवर्तनले केही नेताहरूको अनुपस्थितिले पार्टीलाई फाइदा पुग्ने विश्वास एक थरी नेताहरूको छ ।
थापा पक्षका केही नेताहरू पनि देउवा पक्षले अन्ततः पार्टीलाई समर्थन गर्ने आशावादी छन् । ‘केही नेताहरू सक्रिय रूपमा चुनावी अभियानमा नदेखिए पनि उनीहरूले चुनावका बेला पार्टीलाई समर्थन गर्न अस्वीकार गर्नेछैनन् भन्ने हाम्रो विश्वास छ,’ पार्टी महामन्त्री गुरुराज घिमिरेको भन्छन् ।
जनकपुरमा माघ ६ गते आयोजित कार्यक्रममा सभापति थापाले देउवासहित वरिष्ठ नेताहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका थिए ।‘म पूर्वपार्टी सभापति देउवा तथा अन्य वरिष्ठ नेताहरूसँग नियमित सम्पर्कमा छु,’ थापाले भनेका थिए, ‘म सबैलाई विगतका गुनासो र गलत बुझाइमा अड्किनु नपरोस् भनेर आग्रह गर्दछु ।’
तर निर्वाचनको मुमा पार्टीका धेरै वरिष्ठ नेताहरू अझै निष्क्रिय बनेका छन् । विशेष महाधिवेशनपछि पार्टी औपचारिक रूपमा विभाजन नभए पनि लामो समयदेखि पार्टीको पहिचान निर्माण गरेका नेताहरू चुनावी अवधिमा निष्क्रिय बस्दा पार्टीले केही क्षति भोगेको छ ।




प्रतिक्रिया