रूपन्देही-३ : ३६ जना उम्मेदवार मैदानमा, सबै नयाँ

रूपन्देही-३ : ३६ जना उम्मेदवार मैदानमा, सबै नयाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रूपन्देही–३ मा चुनावी सरगर्मी बढेको छ । यस क्षेत्रबाट ३६ जना उम्मेदवारहरू मैदानमा छन् जसमा १७ जना स्वतन्त्र छन् ।

हरेकजसो निर्वाचनमा ‘हेभिवेट’ नेताका कारण चर्चामा रहने यो क्षेत्र पनि हो । यो क्षेत्रमा अहिले सबै नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । डाक्टर, पाइलट, विद्यार्थी नेता, युवा र राजनीतिक विरासत बोकेका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुन लागेको हो ।

२०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा निर्वाचित भएका थिए ।

बोहराले नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका थिए । त्यतिबेला एमालेले राप्रपालाई समर्थन गरेको थियो । भुटानी शरणार्थी काण्डमा मुछिएपछि खाँण यसपटक चुनावी दौडभन्दा बाहिर छन् भने बोहोराको गएको चैतमा निधन भएको छ ।

खाँण र बोहोराको गृहनगरसमेत रहेको यस क्षेत्रमा यसपटक कसले बाजी मार्ला भन्ने धेरैको चासो र चर्चाको विषय बनेको छ ।

विगतका निर्वाचनमा कांग्रेस–एमालेले राप्रपालाई साथमा लिएर चुनाव लड्दै आएको देखिन्छ । तर, यसपटक सबै दलको छुट्टाछुट्टै उम्मेदवार मैदानमा छन् ।

त्यसअघि २०७४ मा नेकपा (एमाले)का घनश्याम भुसाल, २०७० मा राप्रपाका दीपक बोहरा र २०६४ सालमा मधेसी जनअधिकार फोरमका ओमप्रकाश यादव (गुल्जारी) निर्वाचित भएका थिए ।

अहिले यो क्षेत्रमा एमालेबाट वासुदेव घिमिरे उम्मेदवार छन् । २०७९ सालमा रूपन्देही–बाट पूर्वअर्थ राज्यमन्त्री तथा कांग्रेसका उम्मेदवार भरतकुमार शाहलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका थिए । उनी तिलोत्तमा नगरपालिकाका संस्थापक नगरप्रमुखसमेत हुन् ।

त्यस्तै कांग्रेसबाट नेता सुशील गुरुङले उम्मेदवारी दिएका छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट फैजअहमद खाँ मैदानमा छन् । २०७४ सालमा उनी तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट सिद्धार्थनगर नगरपालिकामा नगरप्रमुखको उम्मेदवार बनेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजङ्ग थापालाई उम्मेदवार बनाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्याप्टेन गौरव बोहरालाई उम्मेदवार बनाएको छ । बोहरा दीपक बोहराका पुत्र हुन् । लामो समय बुद्ध एअरको सिनियर पाइलटका रूपमा काम गरी नागरिक उड्डयन क्षेत्रमा अनुभव सँगालेका बोहरा यसपटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् ।

यस क्षेत्रमा ७१ हजार २५८ पुरुष, ६८ हजार ७७५ महिला र दुई अन्य गरी एक लाख ४० हजार ३५ जना मतदाता छन् । यहाँ ४६ मतदानस्थल र १५७ वटा मतदान केन्द्र छन् ।वर्षौंदेखि आबद्ध रहेको पार्टीका उम्मेदवारलाई मत दिने कि उठिरहेको परिवर्तनको आवाजलाई मजबुत बनाउने भन्ने विषयमा मतदाताहरूको भिन्नभिन्न प्रतिक्रिया रहेको पाइन्छ ।

स्थानीयका अनुसार घिमिरे, गुरुङ, डा. थापा र बोहोराबीच चारपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उनीहरूका फरक दृष्टिकोण र रणनीतिले पनि निर्वाचनलाई थप रोचक र चुनौतीपूर्ण बनाएको छ ।

एमाले–कांग्रेसको बराबर पकड रहेको क्षेत्रका रूपमा परिचित छ । फेरिँदो जनमतले कतै नजिता उल्टिने होइन भन्ने आशंकाले कांग्रेस र एमाले चुनावी गणित बुझेर अभियानमा लागेका छन् ।