काठमाण्डु – नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम नुवाकोट–१ का उम्मेदवार डा. प्रकाशशरण महतले नुवाकोटलगायत देशभर कांग्रेसका उम्मेदवारहरु बलियो स्थितिमा रहेको दाबी गरेका छन् ।
महतले कांग्रेसका उम्मेदवार र कार्यकर्ताहरु जनताका लागि सुख दुःखका साथी भएकाले जुनसुकै अवस्थामा उपलब्ध हुने बताए ।
वैकल्पिक भनिएका दलहरुको शिर र पुच्छर नभएकाले कांग्रेससँग तुलना नहुने उनको भनाइ छ । ‘वैकल्पिक भनिएका शक्तिहरूको शिर र पुच्छरको अत्तोपत्तो छैन । कहाँबाट आउँछन, कहाँ हराउँछन् पत्तो छैन । सामाजिक संजालको प्रभावले उहाँहरू आइरहनु भएको छ । हामीसँग संगठन छ, इतिहास छ । लामो समयदेखि जनतासँग जोडिरहेका छौं । दिगो रूपमा काम गरिरहेका छौं र अस्तित्वमा छौं । ७५ वर्षको इतिहासमा धेरै चुनौतिहरूको सामना गरेका छौं, उतारचढाव व्यहोरेका छौं । त्यही कारणले कांग्रेस टिकेको छ । नयाँ हुँदैमा राम्रो हुने होइन । तर हामी सुखदुख र अफ्ठयारो अवस्थामा साथमा छौं त्यसैले हामी यस पटक पनि थप बलियो रुपमा स्थापित हुनेछौं,’ उनले भने ।
नुवाकोटको सन्दर्भमा आफू ऊर्जा मन्त्री वा अर्थमन्त्री हुँदा साथै विभिन्न चरणमा काम गरेर देखाइसकेकाले यस पटक पनि मतदाताले रोज्ने उनको दाबी छ । ‘म प्रत्यक्ष निर्वाचन नलडे पनि धेरै काम गरेको छु । परिपक्व, इमान्दार र काम गर्नसक्ने व्यक्तिको पहिचान बनाइसकेको छु । त्यसैले मतदाताले मलाई रोज्नेछन्,’ उनले अगाडि भने, ‘गारोसारो र अफ्ठयारो अवस्थामा पनि महतले काम गर्छ भन्नेमा नुवाकोटवासी विश्वस्त छन् ।’
नुवाकोटको विकासमा वितेको १० वर्ष कांग्रेसको प्रतिनिधित्व नभएकाले काम नभएको बताउँदै उनले आफूले १० वर्षको क्षतिपूर्ति दिनेगरी आफ्नै अगुवाइमा विकासका लागि करिब सात अर्ब जति विनियोजन गराएको जानकारी दिए ।
‘ककनीको बाटोमा एक अर्ब २० करोड विनियोजन गरेर धेरै काम भएको छ, गगंटेबाट गोल्फू भन्ज्याङ जाने बाटोमा एक अर्ब ३३ करोड सुनिश्चित मैले नै गरेकाले ठेक्का लागेर काम अघि बढिसकेको छ । त्यो बाटोले दुवै क्षेत्र एवम सिन्धुपाल्चोकसँग जोड्ने र काठमाण्डुसँगको दूरी छोटो बनाउनेछ । कृषि, पर्यटन र व्यवसायमा सहज हुनेछ । छहरे–टोखा बाटो जिर्ण थियो, त्यसका लागि म अर्थमन्त्री भएका बेला आठदश करोड विनियोजन गरेर तत्कालै काम अघि बढाएर हाल धेरै सहज भएको छ । ओखरपौवादेखिको बाटोमा पनि ११ करोड विनियोजन गरेर सहज बनाएको छु,’ उनले दावाका साथ भने ।
नेपाली कांग्रेससँग प्रतिस्पर्धा वैकल्पिक भन्दा पनि पूरानै दलहरूसँग हुने बताउँदै उनले आफू नुवाकोट–२ मा बलियो उम्मेदवार भएको र विजयी निश्चित भएको दाबी गरे ।
‘मतदाताहरूले काम गर्ने नेता खोजेका छन् । मैले पनि पार्टी होइन काम रोजौं भनेको छु । नुवाकोटबासी काम रोज्न तयार छन,’ उनले भने ।
नेपाली कांग्रेस एकढिक्का भएकाले यस पटक पार्टीका उम्मेदवारहरूलाई पनि सहज भएको उनको भनाइ छ । ‘हाम्रो आन्तरिक जीवनमा उतारचढावहरू आइरहन्छन् । अनेकौं घटनाहरू घटिरहन्छन, त्यसलाई महत्व दिन जरुरी पनि छैन ।
विपक्षीसँग प्रतिपर्धा हुँदैछ, देश तरल अवस्थामा छ, मानसिकता खलबलिएकाले त्यसलाई स्थिरता दिनुपर्ने बाध्यता हामीमा छ । यस्ता अनेक संकटको समाधान कांग्रेसले नै गर्छ,’ उनले भने ।
स्थिरता, लोकतन्त्र र विधिको शासनका लागि साथै राष्ट्रियता कमजोर हुनबाट जोगाउन कांग्रेसले जित्नुपर्ने उनको भनाइ छ ।
‘स्थिरता, विधिको शासनका लागि, लोकतन्त्रका लागि, राष्ट्रियतालाई कमजोर बनाउनेहरू विरुद्ध कांग्रेसलाई मतदान गर्न आग्रह गर्दछु । नुवाकोटका सन्दर्भमा पनि म काम गर्ने व्यक्ति भएकाले कुरा भन्दा काम गर्नेलाई भोट दिन आग्रह गर्दछु,’ उनले आग्रह गरे ।




प्रतिक्रिया