काठमाण्डु – ‘हेभीवेट’ नेताहरूबीच कडा प्रतिस्पर्धा हुने क्षेत्रमा काठमाण्डु–५ पनि रहेको छ । काठमाण्डु उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये यो सबैभन्दा चासोको क्षेत्र पनि बनेको छ ।
उत्तर–दक्षिण फैलिएको यो निर्वाचन क्षेत्र प्राचीन टोखादेखि नारायणहिटी क्षेत्रसम्म फैलिएको छ, जहाँ शहरी ‘एलिट’ वर्गको बसोबास छ । सुरक्षा निकाय र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू पनि यही क्षेत्रमा बसोबास गर्ने भएकाले यहाँका मतदातालाई प्रायः निर्णयकर्ता मानिन्छ ।
नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली उम्मेदवारहरूको उपस्थितिले यो क्षेत्रको निर्वाचन झनै रोचक र चाखलाग्दो बनेको छ ।
यस निर्वाचन क्षेत्रमा एकालेका वरिष्ठ नेता ईश्वर पोखरेल, कांग्रेसका महामन्त्री प्रदीप पौडेल र राप्रपाका वरिष्ठ नेता कमल थापासहित जम्मा २५ जना उम्मेदवार छन् । तीमध्ये पाँच जना स्वतन्त्र उम्मेदवार छन् ।
एमालेका पोखरेल अघिल्लो निर्वाचनको हारको बदला लिने दाउमा छन् । २०७९ को निर्वाचनमा पोखरेललाई पराजित गर्दै कांग्रेसका पौडेल विजयी भएका थिए । कांग्रेसका महामन्त्री समेत रहेका पौडेल यसपटक पनि उम्मेदवार छन् ।
यस क्षेत्रमा एमालेको स्थानीय आधार राम्रो भए पनि पोखरेललाई जनमत पाउन निकै मेहनत गर्नुपरेको देखिन्छ । अघिल्ला निर्वाचनहरूमा उनले तीन पटक हार र दुई पटक जित हासिल गरेका छन् । अघिल्लो निर्वाचनमा ठूलो मतान्तरले विजयी भएका पूर्वमन्त्री समेत रहेका कांग्रेसका पौडेल यसपटक पनि त्यस्तै नतिजाको अपेक्षामा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा विवादरहित छवि बनाएका पौडेललाई मतदाताले काम गर्न सक्ने नेताका रूपमा हेरेको कांग्रेसका नेताहरूको भनाइ छ ।
यस्तै, राप्रपाका वरिष्ठ नेता तथा पञ्चायतकालदेखि सक्रिय राजनीतिज्ञ थापा पनि यो प्रतिस्पर्धामा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सस्मित पोखरेल उम्मेदवार छन् । उनी विवेकशील साझा पार्टीका सक्रिय सदस्यसमेत रहिसकेका छन् र यसअघि पनि यही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिसकेका छन् । उनले २०७९ को प्रदेशसभा निर्वाचनमा काठमाण्डु––५ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए र पाँचौँ स्थानमा रहेका थिए । पोखरेल काठमाण्डु महानगरपालिकाका पूर्वमेयर बालेन शाहको सचिवालयमा काम गरिसकेका छन् ।
यस क्षेत्रमा नेकपाको जनाधार तुलनात्मक रूपमा कमजोर छ । यो पार्टीबाट कल्पना शर्मा उम्मेदवार छन् । शान्ति प्रक्रिया र उनको राजनीतिक पृष्ठभूमिका कारण उनी यहाँ चिनिएकी व्यक्तित्व हुन् ।
२०७२ र २०७९ को निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले यहाँ उम्मेदवार उठाएको थिएन । २०७२ मा कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो, जुन २०७९मा कायम थियो ।
यस क्षेत्रबाट यी प्रमुख प्रतिस्पर्धीबाहेक गतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट कलाकार निशा अधिकारी पनि उम्मेदवार छिन् । यो उनको पहिलो राजनीतिक निर्वाचन हो ।
कुलमान घिसिङ नेतृत्वको नवगठित उज्यालो नेपाल पार्टीका तर्फबाट श्रीराम गुरुङ उम्मेदवार छन् ।




प्रतिक्रिया