काठमाण्डु – निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन घोषणापत्र पेश गर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।
आयोगले मंगलबार गरेको निर्णयअनुसार निर्वाचनमा भाग लिएका सबै राजनीतिक दल तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्नेछ ।
सार्वजनिक गरिएको घोषणापत्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन जारी गरिएको छ । आयोगले तोकिएको समयसीमाभित्र घोषणापत्र सार्वजनिक तथा पेश गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमार्फत निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै समयमै घोषणापत्र बुझाउन सबै राजनीतिक दल र उम्मेदवारहरूलाई सचेत गराइएको छ ।





प्रतिक्रिया