काठमाण्डु– मोरङ–६ का नेपाली कांग्रेसका उम्मेदवार तथा प्रभावशाली नेता डा. शेखर कोइरालाले एकै दिन बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा पार्टी कार्यालय उद्घाटन गरेका छन् ।
कोइरालाले आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका वडा–१, २, ३, ४, ६ र ७ का पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुढीगंगा गाउँपालिकामा पछिल्ला वर्षहरूमा उल्लेख्य विकास निर्माणका काम भएको दाबी गरे ।
उनका अनुसार पिउने पानी, सडक, स्वास्थ्य संस्था लगायतका पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको छ । ‘अरू समयको तुलनामा अहिले बुढीगंगाको मुहार फेरिएको छ,’ उनले भने, ‘यदि यहाँ विकास भएको छैन भन्नुहुन्छ भने म त्यसलाई पत्याउँदिन ।’
फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा कांग्रेसका उम्मेदवारहरू चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातामाझ पुगिरहेका छन् ।
डा. कोइरालाले चुनावी सभालाई सम्बोधन गर्नुका साथै विभिन्न पेशा–व्यवसायमा आबद्ध नागरिकहरूसँग भेटघाट गर्दै मत मागिरहेका छन् । कांग्रेसले जिते मात्र लोकतन्त्र, संविधान, संसदको सर्वोच्चता तथा धार्मिक–सांस्कृतिक पहिचान जोगिने उनको भनाइ छ ।
नेपाली कांग्रेस बुढीगंगा गाउँपालिकाका उपसभापति किरण चौधरीका अनुसार उम्मेदवार कोइरालाले चुनावी कार्यक्रमलाई व्यापक बनाउँदै अभियानलाई थप प्रभावकारी बनाइरहेका छन् ।




प्रतिक्रिया