काठमाण्डु– पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको डरहम विश्वविद्यालयको संयुक्त टोलीले उत्खननका क्रममा कपिलवस्तुको तिलौराकोटमा नेपालकै पहिलो अप्सिडल (पछाडिको भाग अर्धवृत्ताकार भएको) बौद्ध मन्दिर फेला पारेको छ ।
विभागको विज्ञप्ति अनुसार प्राचीन तिलौराकोट नगरभित्र फेला परेको उक्त मन्दिर दक्षिण एशियामा प्रचलित अप्सिडल शैलीको स्पष्ट उदाहरण हो। यस प्रकारका मन्दिरमा पछाडिको भाग अर्धवृत्ताकार हुन्छ र अगाडितर्फ प्रवेश मञ्च रहने विशेषता हुन्छ । प्रारम्भिक उदाहरणहरू चट्टान काटेर बनाइए पनि पछि ढुंगा, काठ वा इँटाबाट निर्माण गर्ने परम्परा विकास भएको पाइन्छ ।
उत्खननमा फेला परेको संरचना नगरको केन्द्र नजिकै अवस्थित छ । यो संरचना करिब १०० मिटर लम्बाइ र १०० मिटर चौडाइ क्षेत्रफल ओगटेको पुरानो दरबार परिसरको अवशेषमाथि निर्माण गरिएको देखिन्छ । जसलाई १.५ मिटर चौडाइको विशाल इँटाको पर्खालले घेरेको थियो । दरबार परिसर परित्याग भएपछि उक्त क्षेत्र धार्मिक गतिविधिको केन्द्रका रूपमा विकसित भएको र पछि त्यही परिसरभित्र बौद्ध विहार तथा अप्सिडल मन्दिर निर्माण गरिएको अनुसन्धान टोलीले जनाएको छ ।
पुरातात्त्विक उत्खननमा प्रशस्त दीपक ९दीयो० भेटिनुले उक्त स्थल लामो समयसम्म तीर्थयात्री तथा श्रद्धालुहरूको पूजा–आराधनाको केन्द्र रहेको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ । पछि मन्दिर र विहारलाई इँटाको पिचिङ गरिएको उचाइयुक्त मञ्चमुनि योजनाबद्ध रूपमा सुरक्षित गरिएको देखिन्छ । उन्नाइसौं शताब्दीमा भारतीय पुरातत्वविद् पी.सी. मुखर्जीले सर्वेक्षण गर्दा यस क्षेत्रलाई ‘देवा टेम्पल’ भनेर उल्लेख गरेका थिए ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले नेपालमा पहिलोपटक अप्सिडल बौद्ध मन्दिर फेला पार्नु ऐतिहासिक उपलब्धि भएको बताउँदै यसले देशको बौद्ध सम्पदाबारे नयाँ प्रकाश पारेको उल्लेख गरे । विभागका पूर्वमहानिर्देशक तथा उत्खनन सह–निर्देशक कोशप्रसाद आचार्यले यस खोजले उक्त स्थलमा बौद्ध आस्थाको महत्व झल्काएको बताए ।
डरहम विश्वविद्यालयका प्राध्यापक तथा उत्खनन सह–निर्देशक रोबिन कोनिङ्घमले तिलौराकोट–कपिलवस्तु दक्षिण एशियाको प्राचीन बौद्ध तीर्थमार्गमा महत्वपूर्ण केन्द्र रहेको उल्लेख गर्दै यस खोजले क्षेत्रको ऐतिहासिक महत्व थप पुष्टि गरेको बताए । लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठका अनुसार उत्खननबाट प्राप्त सामग्रीले यो स्थल दीर्घकालीन धार्मिक केन्द्रका रूपमा रहेको प्रमाणित गरेको छ ।
अनुसन्धान टोलीले वैज्ञानिक परीक्षणका लागि नमूना संकलन गरिसकेको जनाएको छ । यसबाट दक्षिण एशियामा अप्सिडल मन्दिरको काल निर्धारणसम्बन्धी महत्वपूर्ण तथ्य प्राप्त हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया