जनकपुरधाम – धनुषाको निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
उनले पार्टी प्रवेश गर्दै आफ्नो उम्मेदवारी फिर्ताको घोषणा समेत गरेका छन् ।
झा राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष थिए । राष्ट्रिय मुक्ति, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको साझा उम्मेदवारको रूपमा धनुषा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका थिए ।
बुधबार जनकपुरधाममा रास्वपाद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा झासहित उनका समर्थकहरूले रास्वपा प्रवेश गरेका छन् । यससँगै धनुषा क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धाले रोमाञ्चक मोड लिएको छ ।
पार्टी प्रवेश गर्दै झाले वर्तमान राजनीतिक परिस्थिति र समयको मागलाई मध्यनजर गर्दै देशका युवाहरूले परिवर्तन खोजेका कारण उनीहरूको भावना र चाहनालाई सम्मान गर्दै आफूले रास्वपा प्रवेश गरेको बताए । उनले आजकै दिनबाट राष्ट्रिय मुक्ति पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
झाले केही दिनदेखि आफू घरदैलो गर्दै धनुषाका विभिन्न गाउँ घर पुग्दा सबैलै रास्वपा र बालेनको नाम मात्र लिने गरेको सुनाए । उनले जनताले यसपटक परिवर्तन चाहेको बताए । उनले मधेशी युवा प्रधानमन्त्री बन्नेमा आफूले सहयोग गर्ने बताए ।
कार्यक्रममा रास्वपा प्रवक्ता मनिष झाले पार्टी प्रवेश गरेका राजिव झालाई स्वागत गर्नुका साथै उनले गरेका विभिन्न सामाजिक कार्यहरूको प्रशंसा गरेका थिए । प्रवक्ता झाले राजिव झालाई रास्वपामा सम्मानजनक स्थान दिने बताए ।
पार्टी प्रवेश कार्यक्रममा झासँगै दर्जनौं नेता–कार्यकर्ता तथा युवाहरूले रास्वपाको सदस्यता लिएका थिए ।




प्रतिक्रिया