विनोद चौधरीको ३ वर्षे कार्यकालको ‘रिपोर्ट कार्ड’ सार्वजनिक

विनोद चौधरीको ३ वर्षे कार्यकालको ‘रिपोर्ट कार्ड’ सार्वजनिक


काठमाण्डु – पश्चिम नवलपरासी (वसुप) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो ३ वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् ।

२०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्था सहितको विवरण सार्वजनिक गरेका हुन् ।

जेनजी आन्दोलनपश्चात प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचनको सन्दर्भमा उनले ३ वर्षअघि गरेका प्रतिबद्धताहरूको सार्वजनिक मूल्यांकन जनतामाझ राखेका छन् ।

रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भन्दै आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको बताएका छन् ।

उनले भने, ‘प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो । गएको निर्वाचनमा मैले जारी गरेको प्रतिबद्धतापत्र अनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधून् भन्ने चाहन्छु । जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको १–१ जवाफ दिनु मेरो जिम्मेवारी हो । प्रश्न सोध्न पाउने जनताको अधिकार स्थापित गर्न हामीले कांग्रेस बदलेका हौं । देश बदल्छौं भनेर वाचा गरिरहँदा जनताका प्रश्नको जवाफ दिन सक्ने गरी काम गर्नुपर्छ भन्ने पनि बुझेका छौं । त्यसैले मैले ३१ बुँदे घोषणापत्रको १–१ बुँदाको उत्तर लिएर आएको छु ।’

चौधरीका अनुसार रिपोर्ट कार्डको डिजिटलप्रति सार्वजनिक गरिएको छ भने प्रिन्टकपी उनको सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुने चौधरीको सचिवालयले जनाएको छ । उनले मतदातालाई प्रतिवेदन अध्ययन गर्न र कुनै जिज्ञासा भए टोलटोलमै पुगेर प्रश्न गर्न आग्रह गरेका छन् ।