बालेनको ‘रोड शो’ले तात्यो वीरगञ्जको राजनीतिक तापक्रम

बालेनको ‘रोड शो’ले तात्यो वीरगञ्जको राजनीतिक तापक्रम


वीरगञ्ज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहले बुधबार दिउँसो वीरगञ्जमा भव्य ‘रोड शो’ गर्दै चुनावी माहोल तताएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मधेश प्रदेश केन्द्रित प्रचार अभियान सुरु गरेका बालेन सप्तरीपछि वीरगञ्ज आइपुगेका हुन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १५ प्रतिमा चोकबाट सुरु भएको उनको रोड शो भानु चोक, नगवा, इर्न्वा, इदगाह चोक हुँदै छपकैया, वीर्ता, आदर्शनगर, माइस्थान पार गर्दै अन्तत: घण्टाघर चोकमा पुगेर समापन भएको थियो ।

घण्टाघर क्षेत्रमा बालेनलाई स्वागत गर्न हजारौंको संख्यामा विशेषगरी जेनजी पुस्ताका युवायुवतीहरू उनी आइपुग्नुअघि नै भेला भएका थिए । बालेन त्यहाँ पुग्दा समर्थकहरूले ‘अबकी बार, बालेन सरकार’ र ‘जय घण्टी’ जस्ता नारा लगाउँदै उत्साहपूर्ण स्वागत गरे । शाहले गाडीबाटै हात हल्लाउँदै र पार्टीको चुनाव चिह्न घण्टी बजाउँदै समर्थकहरूलाई अभिवादन फर्काए ।

रोड शोमा रास्वपाबाट पर्साका चारै निर्वाचन क्षेत्रका उम्मेदवार पार्टीका नेताहरू बालेनसँगै एउटै गाडीमा सहभागी थिए । घण्टाघरबाट सुरु भएको अन्तिम चरणको यात्रा मुर्ली, पावरहाउस चोक र गण्डक चोक हुँदै बाराको जितपुर–सिमरातर्फ प्रस्थान गरेको थियो ।