काठमाण्डु – अमेरिककाले नेपालमा शान्तिपूर्ण मतदानप्रति विश्वास व्यक्त गरेको छ । निर्वाचन पछि बन्ने सरकारसँग सहकार्य गर्न तयार रहेको पनि अमेरिकाले स्पष्ट पारेको छ ।
अमेरिकाको दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री पाउल कपुरले नेपालमा सुरक्षित र शान्तिपूर्ण निर्वाचन प्रक्रिया हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन् । उनले निर्वाचनपछि बन्ने सरकारसँग काम गर्न अमेरिका तयार रहेको पनि बताएका छन् ।
वासिङ्टनमा अमेरिकी प्रतिनिधिसभाका सांसदहरूलाई नेपाल र बंगलादेशसहित दक्षिण एसियाको अवस्थाबारे जानकारी दिँदै कपुरले नेपालमा सेप्टेम्बरमा भएको सत्ता परिवर्तन र बंगलादेशमा गत वर्ष युवानेतृत्वको आन्दोलनपछि आएको राजनीतिक परिवर्तनलाई लोकतान्त्रिक सहभागिताका अवसरका रूपमा उल्लेख गरे । वासिङ्टनले दुवै देशमा प्रक्रिया सहज रूपमा सम्पन्न हुने अपेक्षा गरेको पनि कपुरले बताए ।
कपुरले दक्षिण एसियामा कुनै एक शक्तिको प्रभुत्व रोक्नु अमेरिकाको प्रमुख उद्देश्य भएको पनि बताए । ‘यदि कुनै शत्रुतापूर्ण शक्ति दक्षिण एसियामा हाबी भयो भने उसले विश्व अर्थतन्त्रमा दबाब सिर्जना गर्न सक्छ,’ उनले भने, ‘त्यसलाई रोक्नु र क्षेत्रलाई स्वतन्त्र तथा खुला राख्नु अमेरिकाको दायित्व हो ।’
उनले बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र भुटानजस्ता देशहरूको रणनीतिक अवस्थिति महत्त्वपूर्ण भए पनि ती देशहरू बाह्य दबाबको जोखिममा रहने बताए ।
कपुरले नेपालमा हुन लागेको निर्वाचनलाई अमेरिका केवल आन्तरिक लोकतान्त्रिक प्रक्रियाको रूपमा मात्र नभई दक्षिण एसियामा चलिरहेको व्यापक रणनीतिक प्रतिस्पर्धाको हिस्सा रूपमा पनि हेर्दै आएको उल्लेख गरे ।
त्यसैगरी डेमोक्रेटिक सदस्य सिडनी कामलागर डोभलले नेपालमा सेप्टेम्बरमा भएको भ्रष्टाचारविरोधी आन्दोलनपछि प्रधानमन्त्रीको राजीनामा र नयाँ निर्वाचनको सन्दर्भ उल्लेख गर्दै यसलाई लोकतन्त्र सुदृढीकरणको अवसरका रूपमा चित्रित गरिन् ।




प्रतिक्रिया