काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनका लागि आइतबारदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ।
आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ।
यो कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन हुनेछ। त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन्।
आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन्।
प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।




प्रतिक्रिया