चुनावी ‘इपिसेन्टर’ बनेका मधेशका ८ निर्वाचन क्षेत्र

चुनावी ‘इपिसेन्टर’ बनेका मधेशका ८ निर्वाचन क्षेत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेशमा विस्तारै गर्मी बढेसँगै चुनावी तापक्रम पनि चुलिँदै गएको छ । केपी ओली र बालेन शाहको उम्मेदवारीसँग जति चर्चा झापा–५को छ त्यस्तै मधेश प्रदेश पनि यसपटकको चुनावको ‘इपिसेन्टर’ बनेको छ ।

मधेशका विभिन्न क्षेत्रमा ‘हेभीवेट’ उम्मेदवारहरू मैदानमा उत्रिएपछि चुनाव थप चासोको विषय बनेको छ । सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा मैदानमा उत्रिएपछि यो क्षेत्रले राष्ट्रिय रूपमै ध्यान तानेका छ ।

चुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अमरेश कुमार सिंहलाई थापाले चुनौती दिएका छन् । उता, धनुषा–३ मा कांग्रेसका पूर्व उपसभापति तथा पूर्वमन्त्री विमलेन्द्र निधि, एमालेकी नेतृ जुली कुमारी महतो र रास्वपाका प्रवक्ता मनीष झाबीच प्रतिस्पर्धा हुँदैछ ।

सर्लाही–२ मा आफ्नै पूर्व सहकर्मी राजेन्द्र महतो र महिन्द्र राय यादवबीच पुरानो राजनीतिक प्रतिस्पर्धा फेरि दोहोरिँदैछ सर्लाही–२ मा महेन्द्र राय यादव, राजेन्द्र महतो, डा. सरोजकुमार र रबिन महतो प्रतिस्पर्धामा छन् ।

धनुषा–४ मा एमाले उपमहासचिव राघुवीर महासेठ र कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादवबीच मुख्य भिडन्त हुने अपेक्षा गरिएको छ । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आफ्नै पूर्व सहकर्मी तथा मधेशका पूर्व मुख्यमन्त्री सतीश सिंह र जसपा नेपालका उमेश यादवले चुनौती दिइरहेका छन् । सिंह स्वाभिमान पार्टीका उम्मेदवार हुन् ।

मधेशका आठ जिल्लाका ३२ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये यी पाँच क्षेत्रलाई ‘हेभीवेट’ उम्मेदवारहरूको ‘ब्याटलग्राउन्ड’ र यसपटकको निर्वाचनको केन्द्रबिन्दुका रूपमा हेरिएको छ ।

सर्लाही–४

नवनिर्वाचित कांग्रेस सभापति थापाले यसपटक काठमाण्डु–४ छोडेर सर्लाही–४ रोजेका छन् । उनले आफ्नै गृहक्षेत्रबाट उम्मेदवारी दिएका डा.संहलाई चुनौती दिएका हुन् । सिंह अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार थिए ।

यसपटक सिंह रास्वपाबाट उम्मेदवार बनेपछि पार्टीको उपस्थिति बलियो हुने अनुमान गरिएको छ । तर सर्लाही–४ मा कांग्रेसको बलियो संगठन भएकाले थापा सहजै विजयी हुन सक्ने विश्लेषण पनि गरिएको छ ।

सर्लाही–२

सर्लाही–२ मा महेन्द्र राय यादव र राजेन्द्र महतोबीच तेस्रोपटक प्रतिस्पर्धा हुँदैछ । अघिल्ला दुई निर्वाचनमा महेन्द्र विजयी भएका थिए ।

महतो राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष हुन् भने यादव नेकपाका उम्मेदवार हुन् । २०७९ को निर्वाचनमा महेन्द्रले तत्कालीन माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेका थिए भने राजेन्द्र पराजित भएका थिए ।

यादवले महतोलाई दुवैपटक पराजित गरेका थिए । यसअघि २०७० को दोस्रो संविधानसभामा पराजित भएपछि २०७४ मा महतो सर्लाही छोडेर धनुषा–३ बाट निर्वाचित भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सर्लाही फर्किंदा यादवले पराजित गरेका थिए । यस क्षेत्रमा कांग्रेसका डा. सरोजकुमार र रास्वपाका रबिन महतो पनि प्रतिस्पर्धामा छन् ।

सर्लाही–३

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ उम्मेदवार रहेको यी क्षेत्र पनि चासो र चर्चामा छ । जसरी सर्लाही–४ लाई कांग्रेसको गढ मानिन्छ, यो क्षेत्र कम्युनिष्टहरूको वर्चस्व रहँदै आएको क्षेत्र हो । २०७९ को चुनावमा यस क्षेत्रबाट विजेता र उपविजेता दुबै कम्युनिष्ट पार्टीका उम्मेदवार थिए ।

अघिल्लो चुनावमा एमालेका हरिप्रसाद उप्रेती विजयी हुँदा तत्कालीन माओवादी केन्द्रका नरेन्द्र कलवार मुख्य प्रतिस्पर्धी रहे । यी दुवै जना यसपटक पनि चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा श्रेष्ठ र उप्रेतीकै बीचमा हुने अनुमान छ ।

कलवार अहिले रास्वपाबाट उठेका छन् । यस क्षेत्रमा अंकगणित श्रेष्ठको पक्षमा देखिए पनि परिस्थिति भने सहज छैन ।

धनुषा–३

धनुषा–३ मा कांग्रेसका निधि, एमालेकी महतो र रास्वपाका झाबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । अघिल्लो निर्वाचनमा निधि समानुपातिक कोटाबाट प्रतिनिधिसभामा गएका थिए । २०७२ मा उनी राजेन्द्र महतोसँग पराजित भएका थिए । २०७९ मा एमालेकी विजयी भएकी थिइन् ।

यसपटक कांग्रेस र एमालेको बलियो उपस्थिति रहेको क्षेत्रमा रास्वपाको राष्ट्रिय लहर तथा ‘बालेन वेभ’ को प्रभाव देखिन सक्ने अनुमान छ ।

धनुषा–४

धनुषा–४ मा एमालेका महासेठ र कांग्रेसका यादवबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । २०७९ को निर्वाचनमा महासेठले यादवलाई केवल १२४ मतले पराजित गरेका थिए । पराजयपछि यादव अदालत गएका थिए, तर अदालतले उनको पक्षमा निर्णय दिएन ।

यसपटक पनि मुख्य प्रतिस्पर्धा यी दुईबीच हुने अनुमान गरिएको छ ।

सप्तरी–२

२०७९ को निर्वाचनमा जनमतका अध्यक्ष सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीचको प्रतिस्पर्धाले चर्चा पाएको थियो । त्यसबेला राउतले यादवलाई पराजित गरेका थिए ।

यसपटक यादव सप्तरी–३ सरेका छन् । तर राउत सहज अवस्थामा छैनन् । जसपा–नेपालका उमेश यादव र पूर्वमुख्यमन्त्री सतीश सिंहले उनलाई चुनौती दिएका छन् । कांग्रेसका रामकुमार यादव पनि बलियो मानिएका छन् ।

जनमत पार्टीका पूर्वप्रवक्ता डा. शरद सिंह यादवले पनि पार्टी छाडेर उम्मेदवारी दिएका छन् । उनले पार्टीभित्र बढ्दो पक्षपात र नातावादका कारण आफूले पार्टी छाडेको बताएका छन् ।

सप्तरी-३

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा निर्वाचनमा सुरक्षित स्थान खोज्दै सप्तरी–३ पुगेका छन्।

चुनावैपिच्छे क्षेत्र परिवर्तन गर्दै आएका यादवले यसपटक सप्तरी–३ मा प्रतिस्पर्धामा उत्रिएका छन्। २०७४ को चुनावमा सप्तरी–२ बाट जितेका उनी २०७९ मा त्यही क्षेत्रबाट पराजित भएका थिए। त्यसपछि बारा–२ मा भएको उपनिर्वाचनबाट चुनाव जितेर संसद पुगेका थिए।

यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यादव मोरङ र सुनसरीबाट उम्मेदवार बनेका थिए। उनी मोरङबाट भने पराजित भएका थिए। २०६४ को संविधानसभा निर्वाचनमा भने मोरङ र सुनसरी दुवै क्षेत्रबाट विजयी भएका यादवले पछि मोरङ छाडेर सुनसरी कायम गरेका थिए।

यादव अहिले फेरि सप्तरी–३ पुगेका हुन्, जहाँ जसपा नेपालको संगठन सप्तरी–२ को तुलनामा कमजोर छ। यसपटक सप्तरी–२ बाट नै चुनाव लड्ने तयारीमा रहेका यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग कुरा नमिलेपछि सप्तरी–३ सरेका हुन्।

यो चुनावमा यादवको प्रतिद्वन्द्वीका रूपमा एमालेबाट ताराकान्त चौधरी र कांग्रेसबाट दिनेशकुमार यादव उम्मेदवार बनेका छन्।यसका साथै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका अमरकान्त चौधरी पनि यादवका लागि अर्को चुनौतीका रूपमा देखिएका छन्।

रौतहट–१

रौतहट–१मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवार छन् । हालै नेपाली कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री अनिलकुमार झा यसै निर्वाचन क्षेत्रमा उम्मेदवार छन् । रोचक त यो छ कि दुवै नेता यस पटक साबिकको भन्दा भिन्न दल र चुनाव चिह्न लिएर मैदानमा उत्रिका हुन् ।

पूर्वप्रधानमन्त्री नेपाल नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्दा झा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् ।

लामो समय नेकपा एमालेको नेतृत्व गरेका नेपालले एमालेभित्र विद्रोह गरी आफ्नै नेतृत्वमा गठन गरेको नेकपा (एकीकृत समाजवादी)का तर्फबाट २०७९ को निर्वाचनमा उम्मेदवार थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगको गठबन्धनका आधारमा उनी यो क्षेत्रबाट निर्वाचित भएका थिए ।

अर्कोतिर झा भने लामो समय मधेश केन्द्रित दलमा रहेर राजनीति गर्दै आएका नेता हुन् । उनी २०७९ को निर्वाचनमा लोसपा नेपालबाट धनुषा–३ मा उम्मेदवार थिए र दोस्रो भएका थिए ।

धनुषामा पराजित भएका झा यस पटक नेपाली कांग्रेसको चुनावचिह्न लिएर आफ्नै गृहजिल्लाबाट उम्मेदवार बनेका हुन् ।