महोत्तरी : परम्परागत अंकगणित फेरिने सम्भावना

महोत्तरी : परम्परागत अंकगणित फेरिने सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा महोत्तरीको राजनीतिक माहोल पनि तात्दै गएको छ । यसपटक त्यहाँका सबै चारवटै क्षेत्रमा परम्परागत चुनावी अंकगणितलाई समेत चुनौती दिने संकेत देखिएको छ । जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा यस वर्षको चुनावले सामान्य जित–हारको हिसाबभन्दा बाहिर गएर अप्रत्याशित नतिजा दिन सक्ने विश्लेषकहरूको भनाइ छ ।

पर्यवेक्षकहरूका अनुसार पार्टी संगठन, धनबलको भूमिका, जातीय समीकरण तथा वैकल्पिक राजनीतिक शक्तिप्रति बढ्दो मतदाता चासोले महोत्तरीमा असामान्य परिणामको सम्भावना बढाएको छ ।

जिल्लाको भौगोलिक र सामाजिक विविधताले सधैं चुनाव जटिल बनाउँदै आएको छ । राजमार्ग आसपासका सहरी बस्ती, उत्तरी पहाडी क्षेत्र र दक्षिणी ग्रामीण मधेशी भूभागका प्राथमिकताहरू फरक–फरक हुँदा एउटै क्षेत्रमा पनि मतदाताको झुकाव विविध देखिन्छ ।यसपटक पार्टीको चिन्हभन्दा पनि उम्मेदवारको व्यक्तिगत छवि, पहुँच र विगतको कार्यसम्पादन निर्णायक बन्ने संकेत देखिएको छ ।

पुनः प्रतिस्पर्धाले चासो
महोत्तरी–१ राजमार्ग क्षेत्र र उत्तरी भेग समेटिएको क्षेत्र हो । त्यहाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का गिरिराजमणि पोखरेल प्रमुख दाबेदारका रूपमा छन् ।

बर्दिबास क्षेत्रमा पूर्वाधार विकास र सरकारी कार्यालय स्थापना लगायत कारण लोकप्रिय मानिने पोखरेल पाँचौं पटक यही क्षेत्रबाट चुनाव लड्दै छन् । २०६४ पछि लगातार तीन कार्यकाल जितेका उनी २०७२ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरीसँग पराजित भएका थिए ।

यसपटक पुनः दुवै नेता फरि आमनेसामने छन्, जसले चुनावलाई थप रोचक बनाएको छ । तर नेपाली कांग्रेस) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले मत विभाजन गर्न सक्ने विश्लेषण गरिएको छ ।कांग्रेसले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेलाई उम्मेदवार बनाएको छ भने रास्वपाका प्रमोद महतो पनि प्रतिस्पर्धामा छन् ।

विशेषगरी युवामाझ परिवर्तनको सन्देश प्रभावकारी हुन सक्ने अनुमान छ । धेरै बलिया उम्मेदवार मैदानमा रहेकाले यहाँ मत विभाजन तीव्र हुने सम्भावना छ ।

बदलिँदो मतदाता मनोविज्ञान
महोत्तरी क्षेत्र–२ मा राजनीतिक अनुभव र छविको प्रतिस्पर्धा देखिएको छ । जसपा–नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी र नेपाली कांग्रेसकी किरण यादव मुख्य प्रतिस्पर्धी हुन् । मतदाताले नाम मात्र होइन, विचारधारा, विगतका आन्दोलन र विकासप्रतिको प्रतिबद्धतालाई पनि मूल्यांकन गरिरहेका छन् ।

परम्परागत मताधार अझै प्रभावशाली रहे पनि असन्तुष्ट र युवा मतदाताको बढ्दो संख्याले प्रतिस्पर्धा एकतर्फी नहुने संकेत दिएको छ । एमालेले यहाँ कासिफ नदाफलाई उम्मेदवार बनाएको छ ।

भीडभाड र अनिश्चितता
महोत्तरी–३ यसपटक सबैभन्दा अनिश्चित मानिएको छ । यस क्षेत्रमा यसपटक ४१ जना उम्मेदवार मैदानमा छन् ।कांग्रेसका बजरंग नेपाली, एमालेका मनोज सिंह, जसपा–नेपालकी मीनाक्षी ठाकुर झा, रास्वपाका उज्ज्वल झा तथा स्वतन्त्र उम्मेदवार रामाधार कापरबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

पार्टी एकीकरणपछि टिकट वितरणमा असन्तुष्टि जनाउँदै जसपा–नेपालका हरिनारायण यादव विद्रोही उम्मेदवारका रूपमा मैदानमा उत्रिएपछि प्रतिस्पर्धा झन् जटिल बनेको छ ।

पूर्व मन्त्रीहरू आमनेसामने
महोत्तरी–४ मा कांग्रेसका महेन्द्रकुमार राय, जसपा–नेपालका डा. सुरेन्द्र यादव र नेकपाका भरतप्रसाद साह प्रतिस्पर्धामा छन् । उनीहरू सबै पूर्वमन्त्री हुन् ।एमालेकी निलम अधिकारी पनि मैदानमा उत्रिएपछि त्रिकोणीय मात्र होइन, बहुकोणीय प्रतिस्पर्धा देखिएको छ ।

यस क्षेत्रमा अनुभव महत्वपूर्ण मानिए पनि मतदाताले अब विगतका उपलब्धिभन्दा स्पष्ट भविष्य दृष्टिकोण खोजिरहेका छन् ।महोत्तरीको चुनावी समीकरण पार्टी केन्द्रित गणनाबाट मतदाताको मनोविज्ञानतर्फ सर्दै गएको देखिन्छ । अनुभव र नयाँ सोच, परम्परा र परिवर्तनबीचको द्वन्द्वले अप्रत्याशित नतिजा ल्याउन सक्ने विश्लेषण गरिएको छ ।

चारै निर्वाचन क्षेत्रमा कुनै पनि उम्मेदवार निर्विवाद रूपमा अगाडि देखिँदैनन् । त्यसैले यसपटकको निर्वाचनमा महोत्तरी सबैभन्दा अनिश्चित जिल्ला बन्ने सम्भावना रहेको विश्लेषकहरूको निष्कर्ष छ ।