काठमाण्डु – फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्न विभिन्न पक्षले बन्द–हड्तालको सहारा लिन थालेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भोलि मंगलबार नेपाल बन्द गर्ने घोषणा गरेको छ । पार्टीको केन्द्रीय समितिले आईतबार विज्ञप्ति जारी गर्दै साम्राज्यवादी डिजाइनअन्तर्गत अघि सारिएको भनिएको निर्वाचन खारेज, वैदेशिक हस्तक्षेप र दमनविरुद्ध संघर्ष तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उद्देश्यले नेपाल बन्द गर्न लागिएको दाबी गरेको छ ।
पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’द्वारा हस्ताक्षरित पत्रमा स्वाधीन संयुक्त सरकार स्थापनाको माग समेत राख्दै बन्दका कार्यक्रमलाई सफल बनाउन उद्योगी, यातायात व्यवसायी, व्यापारी, शिक्षण संस्था, बुद्धिजीवी र सञ्चार क्षेत्रलगायत सबै पक्षसँग सहयोग र समर्थनको अपिल गरिएको छ ।

अर्काेतिर व्यवसायी दुर्गा प्रसाईले पनि बन्द–हड्तालको चेतावनी दिएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाभियानसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै केन्द्रीय अध्यक्ष प्रसाईले बन्दको चेतावनी दिएका छन् ।
अभियानले प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग भएको १२ बुँदे सहमति कार्यान्वयनका निम्ति दबाब दिने जनाएको छ । फागुन ७ गतेसम्म सम्झौता कार्यान्वयन नगरे ८ गते आन्दोलनको कार्यक्रम तय गरी अनिश्चितकालिन नेपाल बन्द र आमहड्ताल गर्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल सरकारले हामीसँग गरेको १२ बुँदे सहमति फागुन ७ गतेसम्म हुबहु कार्यान्वयन गर्नुपर्ने नगरे फागुन ८ गते आन्दोलनको मिति तय गरेर अनिश्चितकालिन नेपाल बन्द र आमहड्ताल गरिनेछ ।’
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी नहुन राष्ट्रवादी, देशभक्त, सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, लब्ध प्रतिष्ठित व्यक्तित्व, मजदुर, किसान, पत्रकार र आमनागरिकलाई अपिल गरिएको छ ।
बन्द आह्वान भएमा यातायातका साधन, शैक्षिक संघसंस्था, प्रतिष्ठान, कलकारखाना, उद्योग, बजार व्यवसाय सबै बन्द रहने दाबी गरिएको छ ।





प्रतिक्रिया