काठमाण्डु– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट सोमबार साँझ पक्राउमा गरेर भद्रकालीस्थित परिसरमा लगिएको हो ।
आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो । सोही आशंकाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा उनी पक्राउ परेका हुन् ।
उनको महाभियानसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै प्रसाईले बन्दको चेतावनी समेत दिएका थिए ।
अभियानले गत ३ गते प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग भएको १२ बुँदे सहमति कार्यान्वयनका निम्ति दबाब दिने भन्दै फागुन ७ गतेसम्म सम्झौता कार्यान्वयन नगरे ८ गते आन्दोलनको कार्यक्रम तय गरी अनिश्चितकालिन नेपाल बन्द र आमहड्ताल गर्ने बताएको थियो ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी नहुन राष्ट्रवादी, देशभक्त, सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, लब्ध प्रतिष्ठित व्यक्तित्व, मजदुर, किसान, पत्रकार र आमनागरिकलाई अपिल समेत गरेको थियो ।
बन्द आह्वान भएमा यातायातका साधन, शैक्षिक संघसंस्था, प्रतिष्ठान, कलकारखाना, उद्योग, बजार व्यवसाय सबै बन्द रहने दाबी गरिएको थियो। बन्द आह्वान गरेको भोलिपल्टै प्रसाईं पक्राउ परेका हुन् ।
यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए ।
सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था छ ।





प्रतिक्रिया