कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक (सूचनासहित)

कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका) परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने जनाएको हो ।

सूचना अनुसार परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन हुनेछ । वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा वैशाख २७ गतेसम्म चल्नेछ । विभिन्न संकाय र धारअन्तर्गत अनिवार्य तथा ऐच्छिक विषयहरूको परीक्षा तोकिएको मिति र समयमा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी (नियमित) विषयबाट परीक्षा सुरु हुनेछ भने १५ गते अनिवार्य नेपाली, १६ गते अनिवार्य अङ्ग्रेजी (आंशिक) र सामाजिक अध्ययन (प्राविधिक धार) का विषयहरू सञ्चालन हुनेछन् ।

त्यसैगरी गणित, लेखा, भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, अर्थशास्त्र, शिक्षा, व्यवस्थापन, मानविकी तथा विभिन्न प्राविधिक विषयहरूको परीक्षा क्रमशः तोकिएको तालिकाअनुसार सञ्चालन गरिनेछ । बोर्डले परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ । परीक्षा सुरु भएको १५ मिनेटपछि उपस्थित हुने परीक्षार्थीलाई सहभागी गराइने छैन । परीक्षा कार्यक्रममा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा व्यवस्था नगरिने पनि स्पष्ट पारिएको छ ।

त्यस्तै, परीक्षा केन्द्र परिवर्तन गर्न नपाइने, मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण लैजान निषेध गरिएको, आवश्यक सामग्री परीक्षार्थी स्वयंले ल्याउनुपर्ने तथा जीवविज्ञान विषयका परीक्षार्थीहरूले बोटनी र जुलोजीका लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन परेमा सूचना प्रकाशित भएको १५ दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ । साथै, अनिवार्य नेपालीको सट्टा ऐच्छिक अङ्ग्रेजी अध्ययन गर्ने विदेशी नागरिकले वैशाख १५ गते नै ऐच्छिक अङ्ग्रेजी विषयको परीक्षा दिनुपर्ने जनाइएको छ ।