धर्मविहीन राजनीतिले निर्मला पन्त हत्याकाण्डमा न्याय असफल बनायो : खुश्बु ओली

धर्मविहीन राजनीतिले निर्मला पन्त हत्याकाण्डमा न्याय असफल बनायो : खुश्बु ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनावी देश दौडाहामा हिँडेकी खुश्बु ओलीले धर्मविहीन राजनीतिक नेतृत्वले निर्मला पन्त हत्याकाण्डमा न्याय असफल बनाएको आरोप लगाएकी छन् ।

मंगलबार कञ्चनपुर पुगेकी उनले राप्रपाको चुनावी कार्यक्रममा बोल्दै निर्मला पन्तको हत्याकाण्ड अझै रहश्यमय रहनु अन्यायको हद र राज्यको तर्फबाट गम्भीर त्रुटि भएको बताइन् ।

निर्मला पन्तको निर्मम हत्या भएको आजसम्म आइपुग्दा ७ वर्ष ६ महिना र २१ दिन बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको भन्दै राज्य प्रणालीमाथि उनले प्रश्न उठाइन् ।

ओलीले निर्मला पन्त र उनको परिवारलाई न्याय नहुनु देशको नैतिक र शासकीय संकटको प्रतिबिम्ब भएको बताइन् । उनका अनुसार नेतृत्व धर्म, विशेषत: सनातन धर्मद्वारा निर्देशित नभएकै कारण न्याय असफल भएको बताइन् । ‘यदि नेतृत्व धर्ममा बाँधिएको भए न्याय पहिलो प्राथमिकता हुन्थ्यो,’ उनले भनिन् । यस देशमा अधर्म विजयी र धर्म पराजित भएको उनले टिप्पणी गरिन् ।

निर्मला पन्तको परिवारप्रति ऐक्यबद्धता जनाउँदै ओलीले आफू न्यायको पक्षमा दृढतापूर्वक उभिएको बताइन् । पीडित परिवारले भोगेको पीडा आफूले गहिरो रूपमा महसूस गरेको उल्लेख गर्दै उनले घटना संस्थागत असफलता र नैतिक पतनको प्रतीक भएको बताइन् । उनले न्याय, उत्तरदायित्व र नैतिक मूल्यमा आधारित नेतृत्व आवश्यक रहेकोमा जोड दिइन् ।

उनले सुदूरपश्चिममा प्रशस्त जडीबुटी स्रोत भएको र ती कच्चा रूपमा बाहिर पठाइने अनि महंगो औषधि आयात गरिरहनुपरेको बताइन् । जडीबुटीको स्थानीय प्रशोधनले रोजगारी सिर्जना गर्दै सुदूरपश्चिमेली अर्थतन्त्र बलियो बनाउन सक्ने उनले बताइन् ।