काठमाण्डु – प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा मधेशको सुरक्षा चुनौती गम्भीर चिन्ताको विषय बनेको छ । मधेश प्रदेशको भारतसँगको खुला सीमाका कारण आसन्न निर्वाचनमा त्यहाँको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेको विश्लेषण गरिएको छ ।
सुरक्षा निकायले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै विशेष तयारी गरेको छ । सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचनमा खुला सिमाना, भूमिगत संगठन, निर्वाचनको विरोधमा हुने गतिविधि सुरक्षा चुनौतीका रूपमा हेरिएको छ ।
मधेशका केही जिल्लामा बढी आपराधिक गतिविधि हुने भएकाले पनि निर्वाचनका लागि सुरक्षा चुनौती रहेको सुरक्षा निकायको विश्लेषण छ ।
गएको ६ महिनामा मधेश प्रदेशमा ५६ वटा हत्याका घटना भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार आव २०८२/८३ सुरु भएयता मधेशका आठ जिल्लामा ५६ जनाको हत्या भएको हो । यसअवधिमा सबैभन्दा बढी हत्या सप्तरीमा १३ जनाको हत्या भएको छ ।
चुनावी अवधिमा सिरहा र सर्लाहीमा गोली प्रहारबाट भएका दुई व्यक्तिको हत्या घटना सुरक्षा घेराभित्र भएका छन् तर प्रहरीले अझसम्म संलग्नबारे सुइँको समेत पाउन नसक्नुले मधेशको सुरक्षा व्यवस्थामाथि चुनौती देखिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै मधेश प्रदेशलाई संवेदनशील क्षेत्र घोषणा गरिएको छ । सुरक्षा निकायका अनुसार निर्वाचनमा तीन तहको सुरक्षा संयन्त्र परिचालन गरिनेछ । उच्च जोखिम क्षेत्रहरूमा ड्रोन र सीसीटीभीमार्फत निगरानी गरिनेछ ।
मधेशका आठ जिल्लामा रहेका २,१६० मतदान स्थलमध्ये १,२३७ (५७ प्रतिशत) ‘अति संवेदनशील’ र ७६३ ‘संवेदनशील’ वर्गमा राखिएका छन् ।
सप्तरीलाई ‘रेड जोन’ घोषणा गरिएको छ जहाँ २०९ मतदान स्थल अति संवेदनशील छन् । यस्तै धुनषा र महोत्तरी पनि उच्च जोखिममा छन् ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने तयारी छ ।सीमा क्षेत्रमा भारतका सुरक्षा निकायसँग समन्वय बैठकसमेत सम्पन्न तथा तयारी अवस्थामा रहेको जनाइएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार ४० हजारभन्दा बढी नेपाल प्रहरी, १० हजार सशस्त्र प्रहरी र आवश्यक नेपाली सेनासहित ५० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन परिचालन हुनेछन् । ४६४ किलोमिटर खुला सीमा क्षेत्रमा कडाइका साथ निगरानी गरिने उनले बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त रूपमा संवेदनशील क्षेत्रमा खटिनेछन् । मोबाइल गस्ती, सादा पोशाकका प्रहरी, विशेष सीमा जाँच, हतियार ओसारपसार, अवैध नगद र मतदातालाई प्रभावित पार्ने प्रयासमाथि विशेष निगरानी गरिनेछ ।
सुरक्षा निकायले आसन्न निर्वाचनमा मधेशमा तीव्र राजनीतिक प्रतिस्पर्धा र जातीय तथा धार्मिक संवेदनशीलतालाई मुख्य सुरक्षा चुनौतीका रूपमा लिएको छ ।विगतमा भएका बुथ कब्जा र मतपेटिका तोडफोडका घटनालाई रोक्न विशेष समर्कता अपनाइने दोहोरिननदिन डिआजी थपलियाले बताए ।
सुरक्षा अधिकारीहरूका अनुसार मधेशमा निर्वाचन मतदाताका लागि अवसर भए पनि सुरक्षाकर्मीका लागि प्रभावकारी र सुरक्षित व्यवस्थापनको कठिन परीक्षा हुनेछ ।




प्रतिक्रिया