मिटर ब्याजी, लघुवित्त र सहकारीका ठगहरूलाई तह लगाउँछौं : सभापति थापा

मिटर ब्याजी, लघुवित्त र सहकारीका ठगहरूलाई तह लगाउँछौं : सभापति थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रश्न गर्दा भदौ २३ गते राज्यको गोलीबाट मारिए जस्तोे अवस्था अब देशमा आउन नदिने प्रतिज्ञा गरेका छन् ।

बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अब युवकले प्रश्न गर्न पाउने भन्दै कसैले सिंहदरबार जलाउन जानु नपर्ने धारणा राखे ।

उनले भने, ‘हामीले गरेको यो प्रतिज्ञा पूरा नहुँदा प्रश्न र आलोचना गर्न राम्रोसँग पाउँछ । अब प्रश्न गर्दा कुनै युवकले भदौ २३ मा राज्यको गोलीबाट मारिएको जस्तो मर्नुपर्दैन यो हाम्रो प्रतिज्ञा हो । कसैले सिंहदरबार जलाउन जानु पर्दैन यो हाम्रो प्रतिज्ञा हो । त्यस्तो नेपाल बनाउँछौं ।’

उनले आगामी दिनमा प्रधानमन्त्री कुनै पनि भ्रष्टाचार काण्डमा नमुछिने वातावरण बनाउने दाबी गरे । एउटा युवकले लाइसेन्स लिन जाँदा घुस दिनुपर्ने, कोही कसैले झूटा मुद्दाको सिकार हुनुपर्ने र हातमा फाइल बोकेर काठमाण्डु धाउनुपर्ने जस्ता समस्याको अन्त्य गर्ने प्रतिज्ञा व्यक्त गरे ।

‘कानून ठूलाको लागि होइन, त्यो अध्याय अब समाप्त भयो । अब देशको प्रधानमन्त्री वा नेपालको कुनै ठूला व्यक्ति कुनै काण्डमा मुछिएको कुरा नहुने प्रतिज्ञा कांग्रेसले गर्छ । अब एउटा युवकले लाइसेन्स लिन जाँदा घुस दिनुपर्दैन । कोही कसैले झूटा मुद्दाको शिकार हुनु पर्दैन, हातमा फाइल बोकेर काठमाण्डु धाउनु पर्दैन, यो हाम्रो प्रतिज्ञा हो,’ उनले भने ।

उनले प्रतिज्ञा पत्रमा लेखिएका कुरा कांग्रेसको सभापतिदेखि वडा तहसम्मका १/१ सदस्यले ५ वर्षसम्म पालना गर्ने प्रतिबद्धता जनाए । ‘यो राजा जनकको भूमिमा म घोषणा गर्न आएको छैन, प्रतिज्ञा गर्न आएको हुँ । आज म जे बोल्छु, प्रतिज्ञा पत्रमा जे लेखिएको छ, त्यसको अक्षरश: नेपाली कांग्रेसको सभापतिदेखि वडा तहसम्मका १/१ सदस्यले ५ वर्षसम्म पालना गर्नेछ,’ उनले भने ।

जस्तोसुकै असहज परिस्थिति भए पनि सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा राजा जनकझै कांग्रेसले आफ्नो प्रतिज्ञाबाट १ इन्च पनि आफूलाई पछि नसार्ने दाबी गरेका छन् ।

उनले सहकारीका ठगहरूलाई तह लगाउने मात्रै नभई मिटर ब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउने र मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्ने बताए ।