रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै यस क्षेत्रलाई क्रान्तिको आधारभूमिबाट विकासको नमूना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उनले जनयुद्धकालीन स्मृतिहरू सम्झिँदै रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताए ।
‘रुकुमपूर्व मेरो लागि नयाँ ठाउँ होइन । म ४१ वर्ष पहिले नै यहाँ आएको थिएँ । रुकुम–रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो । यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ,’ उनले भने ।
संयोजक प्रचण्डले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोको रूपमा उल्लेख गर्दै यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए । जनतासँगको भेटघाटलाई उनले विजय उत्सवसँग तुलना गरे । ‘कतै भव्य जुलुस छ, कतै पञ्चेबाजा बजेका छन् । मत माग्न होइन, विजय उत्सव मनाइरहेको जस्तो लाग्छ,’ उनले भने ।
उनले वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया नभई विशिष्ट समयको राजनीतिक प्रतिस्पर्धा भएको उल्लेख गरे । चुनावमा ३ प्रवृत्तिबिच प्रतिस्पर्धा भइरहेको बताउँदै उनले भदौ २३ गतेको घटनामा युवाको हत्या गर्ने शक्ति, भदौ २४ गते आगजनी र विध्वंश मच्चाउने शक्ति र सुशासन, गणतन्त्र तथा शान्तिको पक्षमा उभिएको शक्तिबिच जनमत संग्रह हुने उल्लेख गरेका छन् ।
‘मान्छे मार्नुहुन्न, आगो लगाउनु हुन्न, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भन्ने प्रवृत्तिलाई जिताउने कि हिंसा र विध्वंसलाई जिताउने भन्ने फैसला जनताले गर्नेछन्,’ उनले भने । आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताउँदै जनताले सकारात्मक शक्तिलाई विजय गराउने विश्वास व्यक्त गरे ।
निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै उनले सेना र प्रहरीप्रति भरोसा व्यक्त गरे । ‘यो निर्वाचन राष्ट्रका लागि महत्वपूर्ण छ । देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यहीँ चुनावले गर्छ,’ उनले भने ।




प्रतिक्रिया