भक्तपुर-१मा नेमकिपाको किल्ला भत्काउने दाउमा कांग्रेस, एमाले र रास्वपा

भक्तपुर-१मा नेमकिपाको किल्ला भत्काउने दाउमा कांग्रेस, एमाले र रास्वपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचनको प्रचारप्रसारमा जुटेका भक्तपुरका उम्मेदवारहरूले घरदैलो अभियान सुरु गरेका छन् ।भक्तपुर–१ र २ मा उम्मेदवारी दिएका सबै उम्मेदवारहरूले घरदैलो अभियान गर्दै एजेन्डासहित घरघरमा मत माग्न पुगेका हुन् ।

नेकपा (एमाले), नेपाली कांग्रेस, नेमकिपा, नेकपा, राप्रपा, रास्वपालगायत स्वतन्त्र उम्मेदवारहरू घरदैलो अभियानलाई तीव्र पारेका हुन् ।

नेमकिपाको बलियो आधार क्षेत्र रहँदै आएको भक्तपुर–१ मा चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरूले चुनावी वातावरणलाई तताएका छन् । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू विकासका एजेन्डा बोकेर जनतामाझ पुगिरहेका छन् ।

भक्तपुर–१ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जना प्रतिस्पर्धामा छन् । यहाँ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले चौथोेपटक चुनाव लड्दैछन् ।

यस क्षेत्रमा २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा नेकमिपाका अध्यक्ष नारायणमान बिजुक्छे निरन्तर निर्वाचित हुँदै आएका थिए ।२०७४ मा बिजुक्छेले उम्मेदवारी नदिने निर्णय गरेसँगै सो पार्टीबाट सुवालले २०७२ र २०७९को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

समाजवादी व्यवस्था स्थापना, नागरिकता नीतिमा कडाइ, भ्रष्टाचारविरुद्ध कठोर कानुन र शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउने मुख्य एजेन्डा नेमकिपाको छ ।

नेमकिपाको विरासत भत्काउने रणनीतिमा रहेका एमाले, कांग्रेस, नेकपा र रास्वपाले आफ्नो चुनावी प्रचारलाई तीव्र पार्दै आ–आफ्नो एजेन्डा ल्याएका छन् । यस क्षेत्रबाट एमालेका सोमप्रसाद मिश्र उम्मेदवार छन् । मिश्रले यसअघि चाँगुनारायण नगरपालिकाको नगर प्रमुखमा पाँच वर्ष रहेर काम गरेका हुन् ।

नेपाली कांग्रेसबाट किरण न्यौपाने उम्मेखवार छन् । उनी नेपाल बार एसोसिएसन भक्तपुरका पूर्वअध्यक्ष हुन् । यस क्षेत्रमा नेमकिपाले विकास कार्यमा विभेद गरेको एमाले र कांग्रेसका उम्मेदवारहरूको दाबी छ ।

नेमकिपाले नगरबाहेक बाहिरको क्षेत्रलाई नदेखेको, नहेरेको, विकासमा विभेद गरेको भन्दै जनताले नयाँ स्वरुपमा आएको कांग्रेसलाई विश्वास गरेर विजयी बनाउने दाबी कांग्रेस उम्मेदवार न्यौपानेको छ ।

रास्वपाका उम्मेदवार रुकेश रञ्जित नेमकिपाको किल्ला भत्काउने दाबी गर्छन् । चुनाव जित्नलाई भक्तपुर बाहिरको मत पनि लिने तर चुनाव जितेपछि फर्केर पनि गाउँ नजाने नेमकिपाको प्रवृत्तिले गर्दा यस पटक रास्वपाले नेमकिपाको किल्ला भत्काउने उनको दाबी छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार भएका अधिवक्ता हरिराम लवजुदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दोस्रोपटक उम्मेदवार भएका भरतबहादुर खड्काको आरोप पनि एउटै छ ।

नेमकिपाको एकाधिकारलाई यसपटकको निर्वाचनले परिवर्तन गर्ने र गाउँसम्म समान विकासको पुहँच पु¥याउने उनीहरूको दाबी छ ।

नेमकिपाले आफ्नो जीतको आधार स्थानीय मुद्दा, स्वच्छ छवि र वैचारिक स्पष्टतालाई मान्दै आएको छ । पार्टीले शिक्षा, स्थानीय उत्पादन, संस्कृति संरक्षण र आत्मनिर्भर अर्थतन्त्रका पक्षमा निरन्तर आवाज उठाएको दाबी गर्छ । प्रेम सुवाल स्वयं पनि स्पष्ट वक्ता र संसदीय बहसमा सक्रिय सांसदका रूपमा चिनिन्छन् ।

तर विपक्षी दलहरूले भने विकासको गति अपेक्षित नभएको, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र लगानी भित्र्याउने सवालमा थप सक्रियता आवश्यक रहेको तर्क गरिरहेका छन् ।

विशेषगरी भक्तपुरजस्तो ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्रमा आर्थिक अवसर विस्तार हुन नसकेको आरोप विपक्षीहरूले लगाउँदै आएका छन् ।

नेमकिपाको संगठन बलियो भएपनि अन्य दलहरूको सक्रियता र गठबन्धनको सम्भावनाले यसपटकको चुनावलाई रोचक बनाएको छ । यदि विपक्षी मत विभाजित भए नेमकिपालाई फाइदा पुग्न सक्छ, तर विपक्षीहरूबीच रणनीतिक समन्वय भएमा परिणाम अप्रत्याशित हुनसक्ने आकलन गरिएको छ ।

नेमकिपाका लागि यो चुनाव विगतको विरासत जोगाउने मात्र होइन, बदलिँदो राजनीतिक परिवेशमा आफ्नो प्रभाव कायम राख्ने परीक्षा पनि बनेको छ ।