दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा चुनाव चिह्न अंकित झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
बिहीबार राति करीब साढे ९ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिलाई स्वागत गर्न भेला भएको भीडका क्रममा केही अपरिचित व्यक्तिहरूले नेकपा एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
घटनाबारे अनुसन्धानका क्रममा संलग्नता देखिएका तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ ।
नेपाल प्रहरीले निर्वाचनको समयमा शान्ति सुरक्षा तथा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबै सरोकारवालालाई अनुरोध गर्दै संयमित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न अपिल गरेको छ ।




प्रतिक्रिया