सशस्त्र प्रहरी महानिरीक्षक फूटबलको उपाधि सैनिक आवासीय महाविद्यालय सल्लाघारीलाई

सशस्त्र प्रहरी महानिरीक्षक फूटबलको उपाधि सैनिक आवासीय महाविद्यालय सल्लाघारीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘नेपाल एपीएफ स्कूल कीर्तिपुरको २१औँ स्थापना दिवस’को अवसरमा सञ्चालन भएको तेस्रो नेपाल एपीएफ स्कूल अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फूटबल प्रतियोगिता–२०८२’कोे उपाधि सैनिक आवशीय महाविद्यालय सल्लाघारीले जितेको छ ।

प्रतियोगितामा सैनिक आवशीय महाविद्यालय सल्लाघारीले नेपाल एपीएफ स्कूल कीर्तिपुरलाई ६–१ गोलको अन्तरले पराजित गरी विजयी भएको हो ।

फागुन ८ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उपाधी जित्न सफल सैनिक आवशीय महाविद्यालय सल्लाघारी तथा उत्कृष्ट खेलाडीहरुलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुको साथै स्थापना दिवसको अवसरमा नेपाल एपीएफ स्कूल कीर्तिपुरलाई सहयोग पुर्‍याउने महानुभाव तथा संघसंस्थाहरूलाई समेत कदरपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा महानिरीक्षक अर्यालले स्थापना दिवसको गौरवपूर्ण अवसरमा विगतका प्रेरणादायी यात्राको स्मरण गर्दै नेपाल एपीएफ स्कूलले आगामी दिनहरूमा शैक्षिक उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्दै अझ उचाइको शिखरतर्फ अग्रसर बनी राष्ट्रका लागि सक्षम, अनुशासित तथा नैतिकवान नागरिक उत्पादन गर्ने आफ्नो पवित्र दायित्वलाई प्रभावकारी रूपमा बहन गर्न सदैव अग्रसर हुने विश्वास व्यक्त गरे ।

उनले शैक्षिक तथा खेलकुदको क्षेत्रमा नेपाल एपीएफ स्कूल सक्षम, अनुशासित र विश्वासिलो संस्थाको रूपमा स्थापित हुँदै आएको चर्चा गर्दै सीमित स्रोतसाधनको अधिकतम तथा प्रभावकारी रूपमा प्रयोग गर्दै सशस्त्र प्रहरी कर्मचारी तथा सर्वसाधारणका सन्ततीहरूलाई गुणस्तरीय, मूल्य आधारित र व्यावहारिक शिक्षा प्रदान गर्दै आइरहेको बताए ।

बालबालिकामा अन्तरनिहित प्रतिभाको पहिचान, संवर्द्धन र संरक्षण गर्नु विद्यालय, राज्य तथा सम्पूूर्ण समाजको साझा दायित्व भएको बताउँदै महानिरीक्षक अर्यालले भने, ‘विद्यालय शैक्षिक विकासको मूल केन्द्र हो, जहाँ शिक्षक शिक्षिकाहरूको लगनशिल, पेशागत निष्ठा र समर्पण विद्यार्थीहरूको सफलतामा प्रतिविम्बित हुन्छ ।’

उनले खेलकुद केवल शारीरिक तन्दुरुस्तीको साधन मात्र नभई मानसिक दृढता, नेतृत्व क्षमता, अनुशासन, सहकार्य र आत्मविश्वास विकास गर्ने सशक्त माध्यम भएको चर्चा गर्दै अन्तरविद्यालय प्रतियोगिताहरूले विद्यार्थी भाइबहिनीहरूमा मात्र नभई विद्यालय, समाज र सिंगो राष्ट्रको सम्बन्धलाई समेत बलियो बनाउन मद्दत पुर्‍याउने बताए ।

महानिरीक्षक अर्यालले खेलकुद खेल मात्र नभई राष्ट्रको परिचय समेत रहेको बताउँदै खेल मैदानमा उत्रिएपछि जीत तथा हारभन्दा पनि खेलाडीहरूले देखाएको इमान्दारिता, अनुशासन र राष्ट्रप्रेम प्रतिको भावले राष्ट्रको गरिमा बढाउने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक गणेश बहादुर ठाडा मगर लगायत विभिन्न संघसंस्थाका महानुभाव, स्थानीय भद्रभलाद्मी, अभिभावक तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।