राप्रपा ‘स्टार प्रचारक’ खुश्बुको अपिल : ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दू शास्त्रलाई’

राप्रपा ‘स्टार प्रचारक’ खुश्बुको अपिल : ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दू शास्त्रलाई’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिक उम्मेदवार खुश्बु ओली ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दू शास्त्रलाई’ भन्दै सक्रिय भएकी छन् ।

चुनाव केन्द्रित उनको दौडाहा र सक्रियताले जोकोहीलाई लोभ्याएको छ ।

निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशन गरेको अन्तिम बन्दसूचीअनुसार खस आर्य महिला क्लस्टरको १ नम्बरमा रहेकी खुश्बु अहिले राप्रपाको ‘स्टार प्रचारक’का रूपमा उदाएकी छन् ।

राप्रपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा खुश्बु मात्र होइनन्, समावेशी समूहअनुसार आदिवासी जनजातितर्फ धादिङकी सरस्वती लामा र स्याङ्जाका तोरण बहादुर गुरुङ, खसआर्य पुरुषतर्फ महोत्तरीका भरत गिरी, दलिततर्फ सुनसरीकी सिता कुमारी राम र धादिङका अमर परियार, थारुतर्फ दाङकी जानकी चौधरी र बाराका श्याम सुन्दर चौधरी, मधेसीतर्फ रुपन्देहीकी उषा पाठक र मोरङका प्रल्हाद प्रसाद साह तथा मुस्लिम क्लस्टरमा सुनसरीकी नाजिय खातुन मिया र रुपन्देहीका ताहिर अली भाटजस्ता सशक्त उम्मेदवारहरू पहिलो नम्बरमा सूचीकृत छन् ।

यी सबै उम्मेदवारहरूको बिचमा खुश्बु ओलीको प्रचारशैली र देश दौडाहाले पार्टीको पक्षमा छुट्टै जनलहर सिर्जना गरेको बताइएको छ । समानुपातिक उम्मेदवार भए पनि उनको सक्रियता कुनै प्रत्यक्ष उम्मेदवारभन्दा कम छैन ।

अहिले उनी पार्टीको अभियानलाई अगाडि बढाउने फरक र परिपक्व शैलीका कारण व्यापक प्रशंसा बटुल्दै छिन् । कहिले पूर्वी नेपालका फाँटहरू, कहिले तराई–मधेशका गल्लीहरू त कहिले मध्यपहाडी लोकमार्गका उकाली–ओरालीहरूमा उनी अनवरत खटिएकी छन् । केहीअघि राजधानीबाट पश्चिमको यात्रा तय गर्दै उनी तनहुँ, पर्वत, म्याग्दी, बागलुङ हुँदै लुम्बिनी प्रदेशको रुकुम पूर्व र कर्णाली प्रदेशको रुकुम पश्चिमसम्म पुगिन् । त्यसअघि मधेशका जिल्लामा पनि उनी पुगिन् । जहाँ–जहाँ खुश्बु पुगिन्, त्यहाँ–त्यहाँ राप्रपाको चुनावी नारा ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई’ गुञ्जायमान हुने गरेको छ ।

गोरखा दरबारको प्राङ्गणमा उभिएर उनले दिएको ओजपूर्ण अभिव्यक्तिले धेरैको मन छोएको थियो । उनले इतिहासको स्मरण गर्दै भनिन्, ‘तपाईंहरूले देखिरहनुभएको यो दरबार सामान्य संरचना होइन । यो गोरखा दरबार हो, जहाँ गोरखकालीको शक्ति र राष्ट्रिय चेतना बस्छ । म अहिले पुकार गरिरहेको यो डाँडो कुनै साधारण थलो होइन, यो बज्रभैरवको स्थान हो जहाँ पृथ्वीनारायण शाहले नेपालको एकीकरणतर्फ अघि बढ्नुअघि शस्त्र होइन, श्रद्धा र आस्था लिएर आराधना गरेका थिए । यही माटोबाट राष्ट्र निर्माणको संकल्प जन्मिएको हो ।’

उनको उद्घोषले राप्रपाको एजेन्डा केवल सत्ता परिवर्तनको औपचारिकता नभई धर्म, संस्कृति, सभ्यता र स्वाभिमान जोगाउने महाअभियान हो भन्ने सन्देश प्रवाह गरेको धेरैको भनाइ छ ।

सार्वजनिक कार्यक्रमहरूमा ओलीले राष्ट्रिय तथा स्थानीय मुद्दाहरूलाई जसरी स्पष्ट र प्रभावकारी ढंगले प्रस्तुत गरेकी छन्, त्यसले उनीभित्रको परिपक्व राजनीतिक नेतृत्व क्षमतालाई उजागर गरेको छ । उनको शान्त, आत्मविश्वासी उपस्थिति र व्यक्तित्व बिचको स्थिरताले विभिन्न समुदायका मतदातासँग सहजै सम्बन्ध जोड्न सहयोग गरेको छ ।

नाराभन्दा मुद्दा, हतारभन्दा विवेक र प्रदर्शनभन्दा सेवाभावमा आधारित उनको अभियान शैलीले प्रदेशीय सीमालाई चिरेर राष्ट्रिय स्तरमा व्यापक विश्वास र लोकप्रियता बटुलिरहेको छ । खुश्बु स्पष्ट रूपमा भन्छिन्, ‘यसपटकको चुनाव कुनै व्यक्ति जिताउनका लागि होइन, देश बचाउनका लागि हो । यो मत डर, लोभ वा विदेशी एजेन्डाबाट होइन, आफ्नै माटो, आफ्नै इतिहास र आफ्नै भविष्यप्रतिको जिम्मेवारीबाट खसालिनेछ ।’ मैदानमा मात्र होइन, सामाजिक सञ्जालमा समेत बढ्दो उनको लोकप्रियताले राप्रपाका प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारहरूका लागि थप सकारात्मक वातावरण सिर्जना गरिरहेको छ ।

उनले भ्रम, षड्यन्त्र, पैसा र सत्ताको दम्भलाई चिर्दै उनी जनतालाई निर्णायक शक्तिको रूपमा उभिन आह्वान गरिरहेकी छन् । ‘एक भोट हलोमा, देशको भलोमा’ भन्ने मूल मन्त्रका साथ अघि बढेकी खुश्बुको सक्रियताले राप्रपाको पक्षमा राम्रो माहोल बनिरहेको दाबी गरिरहेको छ । शनिबार मात्रै पनि उनी चुनावी अभियानकै क्रममा झापा हिँडेकी छन् । अघिल्लो निर्वाचनमा संसदको पाँचौँ शक्ति रहेको राप्रपा यो पटक थप राम्रो नतिजा निकाल्ने दाउमा छ । खुश्बु राप्रपाको पक्षमा राम्रो माहोल रहेकाले सुधारिएको नतिजा आउने बताउँछिन् ।