धनगढी – चुनाव हार्नै नजानेका, अनि एउटै क्षेत्रबाट पटक–पटक सांसद बनेर ५ पटक प्रधानमन्त्री बनेका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छैनन् ।
२०७८ सालदेखि हालसम्म अपराजित देउवाले अन्तिम पटक चुनाव लड्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । तर कांग्रेसमै विद्रोह गर्दै विशेष महाधिवेशनबाट सभापति छानिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिले यस पटक देउवाको ठाउँमा नैनसिंह महरलाई टिकट दिएको छ । देउवा चुनाव बाहिर हुँदा कांग्रेसलाई डडेल्धुराका शाख जोगाउन निकै संघर्ष गर्नुपरिररहेको छ ।
उनी निर्वाचन क्षेत्रमा समेत पुगेका छैनन् । देउवा निकटका केही कार्यकर्ताहरूले चुनावी अभियानमा जिल्ला आउन आग्रह गरे पनि उनले बेवास्ता गरिरहेका छन्, जसका कारण कांग्रेसलाई शाख जोगाउन हम्मे पर्ने देखिएको छ ।
सुदूरपश्चिमबाट चुनाव लडेर देशकै राजनीतिमा प्रभाव पार्ने कांग्रेसकै रमेश लेखक पनि यसपटक निर्वाचनबाट बाहिर छन् । लेखकको चुनाव लड्ने चाहना हुँदाहुदै उनलाई कांग्रेस नेतृत्वले टिकट दिन चाहेन ।
जेनजी आन्दोलनका क्रममा लेखक गृहमन्त्री थिए । उनी कञ्चनपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएको थिए । सो क्षेत्रमा कांग्रेसले यसपटक हरि प्रसाद बोहरालाई उम्मेदवार बनाएको छ ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ कांग्रेसको गढ नै मानिन्छ । कांग्रेसले वर्चश्व जमाएको क्षेत्रमा लेखक २०५६, २०७० को दोस्रो संविधानसभा र २०७९ को प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य कर्ण थापा पनि राष्ट्रिय राजनीतिमा उच्च छवि बनाएका व्यक्ति हुन् । बाजुरालाई आधार बनाएर राजनीतिक गर्दै आएका थापाले यस पटक टिकट पाउन सकेनन् ।
एमाले अध्यक्ष केपी ओलीको विरुद्ध लागेको आरोपमा थापाले टिकट नपाएको टिप्पणी हुने गरेको छ । बाजुराबाट पटक–पटक चुनाव लडेका थापा २०७० को संविधानसभा निर्वाचनमा विजयी भएका थिए । ०७९ को निर्वाचनमा उनी कांग्रेसका उम्मेदवारसँग पराजित भएका हुन् ।
नेकपा एमालेबाट राजनीति सुरुवात गर्दै हाल नेपाली कम्युनिष्ट पार्टीका आबद्ध रहेका नेता भानुभक्त जोशी बझाङका नहार्ने नेताका रूपमा परिचित छन् ।
२०४७ सालमा पहिलोपटक संसदीय यात्रा थालेका जोशी त्यसयता १ पटक पराजित भएका थिए भने अन्य निर्वाचन जोशीले जित्दै आएका छन् ।
तर यसपटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जोशीलाई टिकट नै दिएन । उनको स्थानमा बझाङबाट नेकपाबाट मिनबहादुर कुँवर चुनाव लडिरहेका छन् ।
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम थारुले यसपटक कैलाली क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिए पनि निर्वाचन आयोगले खारेज गरिदिएको छ । चौधरी फौजदारी मुद्दामा अपराधी प्रमाणित भएको भन्दै संविधान अनुसार नै उनी अयोग्य रहेको भन्दै निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको हो ।
चौधरीले २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाटै आफैं श्रीमती रञ्जिता श्रेष्ठलाई विजयी गराएका थिए । २०७४ को निर्वाचनमा जेलबाटै उम्मेदवारी दिँदा समेत चौधरी कैलाली–१ बाट निर्वाचित भएका थिए । तर उनको संसद यात्रा भने हुन सकेन ।




प्रतिक्रिया