रौतहट – रौतहटको गौर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक एवं सवगढाका पूर्व वडाध्यक्ष शेख जमशेदलाई पक्राउ गरेको छ ।
गौर नगरपालिका–६ सवगढामा २ समुदायबिच उत्पन्न विवादले उग्ररूप लिएपछि प्रहरीले जमशेदसहित करीब २० जनालाई नियन्त्रणमा लिएको छ । जमशेदलाई शनिबार उनकै घरबाट नियन्त्रणमा लिएको छ ।
जमशेदलाई हाल जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । झडपका क्रममा १० जना सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरूले ७ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरी नष्ट पारेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ५० सेलभन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौं राउण्ड हवाई फायर गरेको छ ।
दुवै पक्षबिच शुक्रबार ६ बुँदे सहमति भए तापनि शनिबार बिहानैदेखि पुन: झडप सुरु भएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालले विभिन्न क्षेत्रमा कर्फ्यू जारी गरेका हुन् । बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी लैजाने विषयमा सुरु भएको सामान्य विवाद शुक्रबार र शनिबार हिंसात्मक झडपमा परिणत भएको हो ।
प्रशासनले शान्ति सुरक्षा कायम गर्न थप सुरक्षाकर्मी परिचालन गरेको छ भने स्थानीयलाई घरबाहिर ननिस्किन आग्रह गरेको छ ।




प्रतिक्रिया