झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिक उम्मेदवार तथा नेत्री खुश्बु ओलीले प्रमुख राजनीतिक दलहरूले वर्षौंदेखि गरीब र सुकुम्बासीलाई धनीपुर्जा दिने झूटो आश्वासन दिएर भोट बैंकको रूपमा मात्र प्रयोग गरेको भन्दै कडा आलोचना गरेकी छन् ।
आईतबार झापाको निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावका बेला मात्र जनताको आँगनमा आउने एमाले, कांग्रेस र माओवादीका नेताहरूले जितेर गएपछि जनताको समस्या बिर्सिने गरेको आरोप लगाइन् ।
नेत्री ओलीले पटक–पटक सरकारको नेतृत्व गरेका शक्तिशाली मन्त्री र प्रधानमन्त्रीहरूले समेत जनताको हातमा लालपुर्जा दिन नसकेकोप्रति आक्रोश व्यक्त गरिन् । आफू र आफ्नो पार्टीले चुनाव जितेर गएमा सदनमा जनताको आवाज बुलन्द गर्ने र आवश्यक परे लालपुर्जा प्राप्तिका लागि जनतासँगै सडकमा ओर्लिएर राजमार्ग बन्द गर्न समेत पछि नपर्ने उनले चेतावनी दिइन् । पुराना दलहरूको भ्रमको खेती अब बन्द हुनुपर्ने र जनताले इमान्दार राजनीतिको पक्षमा उभिनुपर्ने उनको भनाइ थियो ।
वर्तमान गणतन्त्रात्मक व्यवस्थाप्रति कडा प्रहार गर्दै नेत्री ओलीले वर्तमान व्यवस्थाले देशलाई आर्थिक भार र भ्रष्टाचारमा चुर्लुम्म डुबाएको दाबी गरिन् । राजसंस्था रहेको समयमा देशमा उद्योगधन्दाहरू सञ्चालनमा रहेको तर गणतन्त्र आएपछि ती सबै बन्द हुँदा आज लाखौं युवाहरू विदेशिन बाध्य भएको उनले बताइन् । राजदरबारको खर्चभन्दा अहिलेका राष्ट्रपति र गणतन्त्रका संरचना पाल्ने खर्च कैयौ गुणा बढी भएको र देश ३० खर्ब ऋणमा फसेको तथ्यांक उनले प्रस्तुत गरिन् ।
देशलाई संकट पर्दा अहिलेका नेताहरू विदेशी राहदानी लिएर भाग्न तयार रहेको आरोप लगाउँदै उनले देश र जनताको संरक्षण गर्न सक्ने एउटा स्थायी अभिभावकका रूपमा राजसंस्थाको अपरिहार्यता रहेको जिकिर गरिन् ।
सनातन हिन्दू राष्ट्रको एजेन्डालाई प्राथमिकताका साथ उठाउँदै नेत्री ओलीले चुनावको बेला मात्र मन्दिर धाउने तर व्यवहारमा धर्म निरपेक्षता लादेर सनातन धर्ममाथि प्रहार गर्ने नेताहरूको भण्डाफोर गरिन् । उनले गाउँगाउँमा गरीबी र अभावको फाइदा उठाउँदै विदेशी डलरको प्रभावमा जबरजस्ती धर्मान्तरण भइरहेको दाबी गर्दै यसलाई रोक्न हिन्दू राष्ट्रको विकल्प नभएको स्पष्ट पारिन् । लिम्बु र जनजाति युवाहरूले समेत आफ्नो संस्कार जोगाउन लडिरहेको उदाहरण दिँदै उनले सनातन धर्म र गाईको रक्षाका लागि राप्रपालाई मतदान गर्न अपिल गरिन् ।
ठूला भनिने दलहरू विचारविहीन भइसकेको र आफ्नै पार्टी कार्यालयमा आगो लगाउने स्थितिमा पुगेको भन्दै उनले त्यस्ता दलबाट देशको विकास असम्भव रहेको ठोकुवा गरिन् । झापा क्षेत्र नम्बर ५ मा मात्र विकास केन्द्रित भएको तर क्षेत्र नम्बर ४ उपेक्षित भएको सन्दर्भ उल्लेख गर्दै उनले आफूहरूले जितेमा ठेकेदारहरूको सिन्डिकेट तोडेर भूगोल र आवश्यकताका आधारमा समान विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नेत्री ओलीले आगामी चुनावलाई नयाँ र पुरानो दलको मात्र लडाइँ नभई इमान्दार र बेइमान बिचको लडाइँ भएको संज्ञा दिइन् । देशको माटो सुहाउँदो व्यवस्था ल्याउन र वैचारिक विजय हासिल गर्न उनले ‘एक भोट राष्ट्रको लागि, एक भोट सनातन हिन्दु शास्त्रको लागि’ प्रदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरिन् ।




प्रतिक्रिया