काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा मिडिया र आमसञ्चार जगतले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
रासस केन्द्रीय कार्यालयको अवलोकन भ्रमणका क्रममा रासस मिडिया संग्रहालय र समाचार बुलेटिन कक्षको अवलोकनपछि गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सफल बनाउन सञ्चारमाध्यम र आमनागरिकको सक्रियता जरुरी रहेको बताए ।
गृहमन्त्री अर्यालले संग्रहालयमा संग्रहित विभिन्न सामग्रीको जानकारी लिने अवसर प्राप्त भएको बताए । उनले भने, ‘संग्रहालयमा रहेका राससका स्थापनाकालदेखिका विभिन्न सामग्री (प्रेस, पत्रपत्रिका, बुलेटिन, टेलिफोन र टाइपराइटर) लगायत सामग्रीका बारेमा गहिरो जानकारी भएको छ ।’
गृहमन्त्री अर्यालले गर्विलो इतिहास बोकेको राससले देश र जनताको पक्षमा निष्पक्ष, स्वतन्त्र र व्यावसायिक तवरले निरन्तर सेवा प्रवाह गरिरहेको र संस्थाले आफ्नो इतिहासको जगेर्ना गर्दै नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्न पहलकदमी लिएको उल्लेख गरे ।
मन्त्री अर्यालले राससको मिडिया संग्रहालय र समाचार बुलेटिन कक्षको अवलोकन गरेका थिए । उनले राससबाट सम्पादन हुने समाचार संकलन, समाचार सम्पादन, श्रव्यदृश्यलगायत अन्य सेवाको अवलोकन भ्रमण गरेका थिए ।
गृहमन्त्री अर्याललाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सन्दीप राई र विभागीय प्रमुखहरूले स्वागत गरेका थिए ।




प्रतिक्रिया