कांग्रेसले काम गर्छ, नयाँ दलहरू हराएर जान्छन् : डा. महत

कांग्रेसले काम गर्छ, नयाँ दलहरू हराएर जान्छन् : डा. महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली कांग्रेस तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाश शरण महतले आफू काम गर्ने व्यक्ति भएको भन्दै विजयी गराउन आग्रह गरेका छन् ।

दुप्तेश्वर गाउँपालिकाको विभिन्न वडाहरूमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले आफू उर्जा र अर्थमन्त्री रहँदा जिल्लाको विकासका लागि उल्लेख्य बजेट भित्र्याएकाले आफूलाई विजयी गराउन आग्रह गरे ।

‘गोल्फू भन्ज्याङ, ओडारे क्षेत्रको बाटो मेरै पालामा बनेको हो । त्यसबाहेक स्कूल, स्वास्थ्य चौकी, खानेपानी साथै विजुली नबलेको ठाउँमा मेरै पालामा काम भएको हो । म काम गर्ने व्यक्ति हुँ, अरुले धेरै कुरा गरे काम गरेनन् । एक पटक डा.रामशरण महतलाई एमाले–माओवादी गठबन्धन गरेर काम गर्ने व्यक्तिलाई हराइयो । उहाँलाई हराएकाले विकासको काम बन्द भयो । पछि फेरि हामीले पनि गठबन्धन गरेर ठाउँ छाड्यौं । तर विकासको काम भएन,’ उनले भने, ‘नयाँ दलले त के गर्नु, कुन दुलोबाट आउँछन् कता हराउँछन् थाहा छैन ।’

पूर्व अर्थमन्त्री समेत रहेका उनले रोकिएका विकासका कामहरूले अब निरन्तरता दिने बताए । उनले जनताको आशा र भरोसालाई केन्द्रमा राखेर सहकार्य, सम्मान र जिम्मेवारीका साथ समुन्नत नुवाकोट निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।