काठमाण्डु – काठमाण्डुको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार इन्द्र कुमार भुसालले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवारी दिएका भुसालले आईतबार आयोजित पत्रकार सम्मेलनमार्फत सुशासन, व्यवस्थित शहरी विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १५ बुँदे विकास योजना प्रस्तुत गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै भुसालले काठमाण्डु क्षेत्र नम्बर ४ तीव्र शहरीकरण, बढ्दो जनघनत्व, अव्यवस्थित ट्राफिक, खानेपानी अभाव, प्रदूषण र बेरोजगारीजस्ता समस्याले ग्रस्त रहेको उल्लेख गरे ।
नाराभन्दा परिणाममुखी काम आवश्यक रहेको बताउँदै उनले आफू ‘पदका लागि होइन, परिणामका लागि’ चुनावी मैदानमा उत्रिएको दाबी गरे । उनले सुशासनमार्फत प्रत्येक नागरिकलाई सेवाको अनुभूति गराउने, सडक तथा ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्ने, प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्याउने तथा कृषिको आधुनिकीकरण गर्ने प्रतिबद्धता जनाए ।
शिक्षा क्षेत्रअन्तर्गत नि:शुल्क शिक्षालाई कानूनी सुनिश्चितता दिने र स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउने योजना पनि उनले अघि सारेका छन् ।
महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक अल्पसंख्यकहरूको सशक्तीकरणका लागि विशेष कार्यक्रम ल्याइने उनले बताए । युवाका लागि रोजगारी सिर्जना, खेलकुद पूर्वाधार निर्माण तथा विस्तार, कला–साहित्य–संस्कृति र पर्यटनको संरक्षण तथा प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिएको छ ।
भूसम्बन्धी समस्या, सुकुम्बासी तथा गुठी व्यवस्थापनका विषयमा दीर्घकालीन समाधान खोजिने, स्थानीय गौरवका आयोजनालाई समयमै सम्पन्न गरिने र ज्येष्ठ नागरिकको सम्मान तथा सहकार्यमा विशेष ध्यान दिइने उनले उल्लेख गरे । वन तथा वातावरण संरक्षणलाई पनि आफ्नो एजेन्डाको महत्वपूर्ण अङ्ग बनाइएको उनले बताए ।
सञ्चारकर्मीलाई निष्पक्ष मूल्यांकन र सकारात्मक आलोचनाका लागि आग्रह गर्दै भुसालले विकास सामूहिक प्रयासबाट सम्भव हुने धारणा व्यक्त गरेका छन् । उनले सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र सञ्चारमाध्यमसँग सहकार्य गर्दै क्षेत्र नम्बर ४ लाई नमूना क्षेत्र बनाउने लक्ष्य लिएको बताए ।
उनले मतदातालाई पारदर्शी नेतृत्व, स्पष्ट योजना र परिणाममुखी कार्यशैलीलाई साथ दिन आह्वान गरेका छन् ।




प्रतिक्रिया